रवीन्द्रको उत्तराधिकारीका रुपमा अघि बढ्दै विद्या

 मंसिर १८, २०७६ बुधबार ७:५०:१७ | सुमन गुरुङ
unn.prixa.net

कास्कीकाे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेर पार्टी र आफ्ना श्रीमान् स्वर्गीय रवीन्द्र अधिकारीको समेत विरासत जोगाउनुभएको छ । 

स्व. रवीन्द्र अधिकारीले यही क्षेत्रबाट लगातार तीन पटकसम्म चुनाव जित्नुभएको थियो । आफ्नो कर्मघर अर्थात श्रीमान् स्व. रवीन्द्र अधिकारीको जन्मघर समेत रहेको यस निर्वाचन क्षेत्रमा २४ हजार ३ सय ९४ मतले प्रतिस्पर्धी नेपाली कांग्रेसलाई पराजित गर्दै जितेर उहाँ सांसद बन्नुभएको छ । 

श्रीमान् अधिकारी सक्रिय राजनीतिमा हुँदा आफू प्राध्यापन पेशामा रही राजनीतिबाट निस्कृय रहनुभएकी विद्या भट्टराईका बारेमा अनेक टिका टिप्पणी पनि नभएका होइनन् । राजनीतिमा चासो नदिइ आफ्नै घरधन्दामा लागेको, अधिकांश समय काठमाण्डौमा बसेको कारण कार्यकर्ताहरुसँग घुलमिल हुन नसकेको आरोप उहाँमाथि थियो । 

त्यसैगरी श्रीमान् तथा तत्कालीन संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको निधन हुँदा हिन्दू संस्कार अनुसार काजकिरिया नगरेको मात्रै होइन, श्रीमान् एनसेल काण्ड र वाइडबडी काण्डमा समेत मुछिएको आरोप पनि विपक्षीहरुले उहाँलाई लगाएका थिए । 

यिनै आरोपका बाबजुद पनि उहाँले आफ्ना श्रीमान् रवीन्द्र अधिकारीले नै प्राप्त गर्नुभएको मत परिणामलाई सदर गर्दै २४ हजार ३ सय ९४ मत प्राप्त गर्न पनि सफल हुनुभएको छ । 

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ ओटा वडा रहेका छन् । अघिल्ला चुनाव अनुसार पहिलेको भरतपोखरी गाविस हाल वडा नम्बर ३३, पहिलेको निर्मलपोखरा र कृस्ती गाविस हाल वडा नम्बर २१, पहिलेको अर्मला गाविस र वडा नम्बर १६ मिलाएर बनाइएको वडा नम्बर १६, पहिलेको मौजा गाविस र भलाम गाविसलाई मिलाएर महानगरमा गाभिएको वडा नम्बर २० तथा वडा नम्बर १५ र १७ नेकपाको गढको रुपमा चिनिन्थे ।

उपनिर्वाचनमा विजयी विद्या भट्टराईले यो विरासतलाई पनि जोगाउँदै कांग्रेसको गढको रुपमा चिनिने पोखरा महानगरपालिका वडा नम्बर ९, ४, ८,११ लगायतका वडाहरुमा पनि आफ्नो उपस्थितिलाई घनिभूत बनाउन सफल हुनुभयो । 

२०५१ सालको मध्यावधि चुनावपछि गण्डकी प्रदेशमा कांग्रेसको सांगठनिक अवस्था खस्कँदै गएको छ । त्यसको प्रत्यक्ष फाइदा तत्कालीन नेकपा एमाले र हाल नेकपालाई भैरहेको छ । उपनिर्वाचन विजेता विद्या भट्टराईलाई पनि त्यसको लाभ प्राप्त नहुने कुरै भएन ।

त्यसमाथि पनि कांग्रेसमा देखिएको गुट उपगुटको राजनीतिले गण्डक क्षेत्र नेकपाको लागि उर्वर बन्दै गएको छ । यसपालिको उपचुनावमा प्रमुख प्रतिपक्ष दलले पुराना नेता खेमराज पौडेललाई उठाएको भए पनि त्यसको प्रभाव नेतृत्व तहमा मात्रै परेको, तल्लो तह अर्थात कार्यकर्ता तहमा त्यसले खासै माने नराखेको परिणामले पनि देखाएको छ ।

वर्तमान लोकतान्त्रिक शासन व्यवस्थामा व्यक्तिको लोकप्रियताको भन्दा पार्टी संगठनको भूमिका महत्वपूर्ण हुने सन्देश यसपालीको कास्की २ को उपनिर्वाचनले पनि दिएको छ । 

मंसिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकले उत्साहका साथ मतदान गरेर जिताएकाेले अबको समय नागरिककै सेवक भएर बिताउने बताउनुभयोे ।

‘राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभाव छ । युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ’, प्राध्यापन पेशाबाट राजनीतिमा फर्कनुभएका उहाँले भन्नुभयो ।

उपनिर्वाचनमा मतदाताले समृद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको उहाँले बताउनुभयो ।

उहाँले राजनैतिक स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । समृद्धिको लागि प्रमुख मानिने विकास निर्माण तथा भौतिक संरचनामा ध्यान दिने उहाँको अर्को एजेण्डा रहेको छ ।

स्वर्गीय रवीन्द्र अधिकारीले सधैँ पोखरालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पोखरा विमानस्थल बनाउने सपना देखिरहने हुँदा पोखरा क्षेत्रीय विमानस्थल सम्पन्न गर्ने अठोट पनि उहाँले लिनुभएको छ ।

नागरिकसँग सहकार्य र सरकारसँग समन्वयन गरेर विकास निर्माणको काम अगाडि बढाउने तथा संविधान कार्यान्वयनको काममा लाग्ने नेकपाको अर्को एजेण्डा छ ।

अर्काे महत्वपूर्ण कुरा के हो भने राज्यका हरेक अंगहरुमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी ग्यारेन्टी भए पनि विभिन्न कारणबाट व्यवहारमा यो सम्भव भएको छैन । महिलाहरुको योग्यता, क्षमता, कार्यकुशलता, लगनशीलताको विषयलाई उठाइएको छ । कास्कीको उपचुनाव विजेता विद्या भट्टराईका राजनीतिक क्षेत्रमा भएको पुनरागमनले महिला सहभागिता र नेतृत्वको खडेरीलाई पनि केही हदसम्म कम गर्नसक्ने अड्कलबाजी गरिन थालिएका छन् ।

गण्डक क्षेत्रको प्रतिनिधित्व गर्दै उहाँले एक कुशल र क्षमतावान महिला नेतृको भूमिका निर्वाह गर्न सक्ने आशा आम पोखरेली मतदाताहरुले लिएका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया