१७ वर्षपछि बन्यो बुइपा–ओखलढुंगा ३३ केभी प्रशारण लाइन

 जेठ ९, २०७५ बुधबार १९:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा, जेठ ९– खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम जोड्ने ३३ केभी विद्युत प्रशारण लाइन १७ वर्षपछि सम्पन्न भएको छ ।

विवाद र आयोजनाको ढिलासुस्तीका कारण २०५७ सालदेखि सुरु भएको आयोजना सम्पन्न हुन १७ वर्ष लागेको हो । आयोजना सम्पन्न भएपछि अहिले ओखलढुंगाको मोलुंग खोलाबाट उत्पादित विद्युत समेत केन्द्रीय आयोजनामा जोडिएको छ भने सदरमुकाम र आसपासमा विद्युत विस्तार सुरु भएको छ । 

२४ करोड लागतमा १७ वर्ष लगाएर आयोजना सम्पन्न गरिएको आयोजना प्रमुख चन्दबीर खड्काले बताउनुभयो । विभिन्न स्थानमा आएका अवरोध र पहिले थालेर अलपत्र छोडिएको पूरा गर्नु पर्ने आयोजना भएकाले काम सम्पन्न गर्न समय लागेको उहाँको भनाई छ । ‘हामीले काम त गएको पुसमै सम्पन्न गरेका हौं’, खड्काले भन्नुभयो, ‘अहिले विद्युत प्रशारण सुरु भएको छ ।’

केन्द्रीय विद्युत प्रशारण लाइन ओखलढुंगा जोड्ने त्यस आयोजना निर्माण सम्पन्न भएपछि ओखलढुंगामा विद्युत नियमित भएको छ । आयोजनाको पर्खाइमा बसेका ओखलढुंगाका नागरिकलाई केन्द्रीय विद्याुत प्रशारण अयोजनाको बिजुली बाल्न १६ वर्ष कुर्नु पर्यो ।

आयोजनाको लापरवाहीले बुइपा–ओखलढुंगा खण्डमा पोल गाडिएको १५ वर्षसम्म तार टाँगिएको थिएन । चौतर्फी दवावपछि दुई वर्षदेखि आयोजनाको कामले गति लिएको थियो । उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको प्रशारण लाइनमा सुधार र बुइपा सब स्टेशन चार्जको काम सकिएपछि ओखलढुंगातर्फको कामले तीव्रता पाएको हो । 

ओखलढुंगा खण्डमा सदरमुकाम ओखलढुंगामा विद्युत वितरणका लागि सब स्टेशन समेत निर्माण गर्नु पर्ने भएकाले समयमा सब स्टेशनको काम नहुँदा आयोजना प्रभावित बनेको थियो ।  

सब स्टेशन बनेपछि प्रशारण लाइन स्टेशनमा जोडेर अन्यत्र विद्युत वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका लगायतका अधिकांश आयोजना प्रशभावित क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको छ । चिसंखुगढी र मोलुंग गाउँपालिकाका वडा स्तरमै विद्युत विस्तारका योजना बनाइएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया