प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित

 साउन ३, २०७५ बिहिबार १७:३१:२९ | हरि हुमागाईं
unn.prixa.net

काठमाडाैै - वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक पनि स्थगित भएको छ । 

केसीको माग सम्बोधन हुनुपर्नेसहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि भएको, संविधान विपरित जनयुद्ध शब्दावलीको प्रयोग गरिएको, गिटी, ढुंगा, बालुवामा लगाइएको कर बढि भएको भन्दै काँग्रेसले अवरोध गरेपछि विहिबार हेटौडामा बसेको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित गरिएको हो ।

बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बाँनियाले सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेशलाई तोडमोड गरेर ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म सदन अवरोध गर्ने घोषणा गर्नुभएको थियो ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराउनु भएको थियो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको थियो । 

गत जेठ २६ गते प्रदेशसभामा दर्ता गरिएको समितिको प्रतिवेदनमा काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरलाई प्रदेशको राजधानीमा सिफारिस गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया