वैदेशिक रोजगारीमा ठगी गर्ने शैली फेरिंदै : यी कुरामा ध्यान दिनुहोस्

 मंसिर २५, २०७६ बुधबार १६:४९:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ भने सावधानी अपनाउनुहोस् । राम्रो काम र कमाइको प्रलोभन देखाएर तपाईँलाई दलालले ठगी गर्न सक्छन् ।

सरकारले फ्रि भिसा, फ्रि टिकट र शून्य लागतमा जान पाउने गरी समझदारी गरेका देशमा पठाउन पनि लाखौं रुपैयाँ माग्न सक्छन् । अहिले ठगीको प्रकृति र प्रलोभन देखाउने देश पनि फेरिएका छन् । 

राम्रो देश र कमाइको प्रलोभन देखाएर ठगी

रामेछापका कुलबहादुर तामाङ (नाम परिवर्तन)लाई म्यानपावर व्यवसाय गर्ने चिनजानकै आफन्तले क्यानडाको लोभ देखाए । क्यानडा जान पाउने कुराले कुलबहादुरलाई  लोभ्यायो ।

एजेण्टले १४ लाख रुपैयाँ लाग्छ भने । क्यानडा नै पुगेपछि १४ लाख त कमाइहालिन्छ नि भन्ने ठानेर कुलबहादुरले एजेण्टलाई १४ लाख रुपैयाँ सजिलै दिनुभयो । 

कुलबहादुरलाई दिल्ली लगेर राखेको डेढ महिना भयो । न क्यानडा जाने प्रक्रिया मिलेको, न नेपाल फर्किन नै सक्नुभएको छ । उहाँले वैदेशिक रोजगार विभागमा उजुरी दिए पनि नेपाल फर्काउन समस्या भएको विभागका महानिर्देशक भीष्मकुमार भूसाल बताउनुहुन्छ । 

कुलबहादुरले पैसा दिँदा कागज गर्नुभएन । त्यसैले पैसा फिर्ता गर्ने प्रमाण नहुँदा समस्या भएको महानिर्देशक भूसालको भनाई छ । 

अहिले क्यानाडा, अर्मानिया, पोल्याण्ड, अष्ट्रेलिया, मकाउ, स्पेन, चेक रिपब्लिकजस्ता विभिन्न देशको प्रलोभन देखाएर लाखौं ठगीका घटना बढेको र रकम वैदेशिक रोजगारीका लागि दिइएको भन्ने आधिकारिक प्रमाण नहुँदा पनि कारबाहीका लागि समस्या भएको महानिर्देशक भूसाल बताउनुहुन्छ । 

हिजोआज गन्तव्य देश र प्रयोग गर्ने बाटो पनि परिवर्तन गर्दै बिचल्लीमा पार्ने, लाखौं रकम असुलेर विदेश नपठाइदिने जस्ता घटना सामान्य भइसकेका छन् ।रोजगारीका लागि  जाने कामदारमध्ये ७६.७४ प्रतिशत श्रमिक समस्यामा पर्ने गरेको राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक अध्ययनले देखाएको छ ।

ज्यानै जानेसम्मको जोखिम

एजेण्ट वा म्यानपावरको मात्रै भर परेर परदेश जाँदा धेरै जोखिम हुन सक्छन् । कामदार आफैं सचेत नहुने हो भने बाध्यकारी श्रम तथा बेचबिखन र शोषणमा पर्ने सम्भावना धेरै हुने वैदेशिक रोजगार विज्ञ तथा अनुसन्धानकर्ता रामेश्वर नेपाल बताउनुहुन्छ । म्या

नपावर कम्पनी वा एजेण्टको छलछामले श्रमिकको मानवअधिकार नै जोखिममा परेको उहाँको भनाई छ । 

गलत तरिकाबाट श्रमिकलाई विदेश पठाएकै कारण धेरैजसोले करार अनुसार काम र तलब नपाउने, ओभरटाइम धेरै गर्नुपर्ने तर रकम भने नदिने, रोजगारदाता परिवर्तन गरेर काममा लगाउने जस्ता जोखिम हुन्छन् ।  कतिपय श्रमिकले गन्तव्य देशमा पुगेपछि यातना पनि सहनु परेको छ । 

त्यसैले पनि विदेश जाँदा सही तरिका अपनाउनु पर्छ । हिजोआज घरमै बसेर पनि आफूले विदेश गएर गर्ने काम, कमाई लगातका आवश्यक जानकारी थाहा पाउन सकिन्छ । 

एजेण्टको भर नपर्ने

सरकारले एजेण्टको व्यवस्था खारेज गरिसकेको छ । कुनै पनि म्यानपावरले अब एजेण्ट राख्न पाउँदैनन् । कसैले यो कामका लागि यो ठाउँमा लगिदिन्छु भन्छ भने त्यो गैरकानुनी हो । कोही पनि एजेण्टले अहिले वैदेशिक रोजगारीमा लैजान सक्दैन ।

एजेण्टको व्यवस्था खारेज भएसँगै कोही पनि व्यक्तिले अब वैदेशिक रोजगारसँग सम्बन्धी काम गर्न पाउँदैनन् ।

इजाजत प्राप्त म्यानपावरले मात्रै वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्न पाउँछन् । त्यसैले सबैभन्दा पहिले त कसैले विदेश पठाइदिन्छु भन्दै विभिन्न आश्वासन देखाउँछ भने सचेत हुनुपर्छ ।

कुनै पनि म्यानपावरबाट वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्दा वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त हो कि होइन, उसको अवस्था कस्तो छ, विभागको कारबाहीमा पो परेको छ कि भन्ने जस्ता कुरा बुझ्नु पर्छ ।

बैंकबाट कारोबार गर्दा सावधानी अपनाउने

हिजोआज विदेश पठाइदिन्छु भन्दै पैसा लिने र फरार हुने क्रम बढ्दो छ । प्रमाण नहुँदा न्याय पाउन पनि मुश्किल हुन्छ । त्यसैले विदेश जानका लागि कसैलाई पनि पैसा दिँदा, आईएमई गर्दा होस् या अरु माध्यमबाट दिँदा, वैदेशिक रोजगारीका लागि दिएको भनेर लेख्नु पर्छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि पैसा दिँदा बैंक खाताबाट बैंक खातामा पैसा पठाउनु हुँदैन । बैंकबाट बैंकमा पठाउँदा लेनदेन हुने र लेनदेनलाई विभागले कारबाही नगर्ने विभागका महानिर्देशक भूसाल बताउनुहुन्छ । 

सकेसम्म बैंकमार्फत कारोबार नगर्न र आईएमईमार्फत पठाउँदा पनि वैदेशिक रोजगारीका लागि लेख्न उहाँको अनुरोध छ । प्रमाण बिना विभागले कारबाही नगर्ने भएकाले आर्थिक कारोबार गर्दा आफू सचेत हुन आवश्यक छ ।

मोबाइलबाटै जानकारी

सरकारले ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप पनि ल्याएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचना मोबाइल एपबाट पनि पाउन सकिन्छ । यो एपबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी पाइन्छ ।

पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण पाउन सकिन्छ ।

विदेशमा पाइने काम घरमै बसेर खोज्ने 

विदेशमा पाइने काम र सेवा सुविधाको बारेमा बुझ्न म्यानपावर वा एजेण्टको भर पर्नै पर्दैन । आफूले गर्न चाहेका काम कुन देशमा गर्न पाइन्छ र के के सेवा सुविधा पाइन्छ, त्यो काममा कुन म्यानपावरले पठाउँछ भन्ने कुरा अब वैदेशिक रोजगार विभागको वेबसाइटबाटै जानकारी लिन सकिन्छ ।

हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । तर अब वेबसाइटबाटै यो जानकारी लिन सकिने हुँदा एजेण्ट र म्यानपावरले भनेको कुरालाई विभागको वेबसाइटमार्फत पनि जाँच्न सकिन्छ ।

कल सेन्टरमा फोन गरेर जानकारी लिने

तपाईँलाई कसैले बढी पैसा माग्दैछ, या कुनै समस्यामा परेको छ भने कल सेन्टरमा तत्काल फोन गर्न सकिन्छ । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरुका गुनासा र समस्या, देशभित्रको श्रम र सामाजिक सुरक्षाबारेका गुनासा र समस्या सुन्न तथा समाधान गर्न सिंहदरबारमा कल सेन्टर छ । कल सेन्टरमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

स्वदेश तथा विदेशमा रहेकाले फोन, इमेल, इमो भाइवर लगायतबाट आफ्ना सुझाव, गुनासा राख्न तथा आवश्यक जानकारी लिन सक्छन् ।

देशभित्र भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गरेर गुनासो राख्न र जानकारी लिन सकिन्छ । विदेशमा हुनेहरुले ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् । ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ । साथै वैदेशिक रोजगार विभागमा रहेको टोल फ्रिमा फोन गरेर पनि आफ्नो गुनासो राख्न सकिन्छ ।

पालिकाहरुमा रोजगार सेवा केन्द्र

अहिले ७५३ वटै पालिकाहरुमा रोजगार सेवा केन्द्रको स्थापना भएको छ । यी सेवा केन्द्रबाट पनि सुरक्षित वैदेशिक रोजगारका बारेमा जानकारी लिन सकिन्छ ।

सेवा केन्द्रबाट बेरोजगारको विवरण संकलन गर्ने, अभिमुखीकरण लगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलव्ध गराउने योजना बनाइएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगीबाट बच्न आफैं सचेत हुन आवश्यक छ । साथै प्रविधिको प्रयोगसँगै पहिले विदेश गएर फर्किएका आफन्तसँग जानकारी लिँदा पनि धेरै कुरा थाहा पाइन्छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया