पैसा राख्ने बैंकमै हो तर चनाखो चाहिँ हुनैपर्छ

 मंसिर २६, २०७६ बिहिबार १२:१:३५ | अनलराज भट्टराई
unn.prixa.net

बैंकमा बेलाबेला चोरीका घटना हुँदा निक्षेपकर्तामा डर हुनु स्वभाविक नै हो । तर यस्ता छिटपुट घटना भए पनि डराइहाल्नुपर्ने अवस्था छैन । चोरीको कुरा नगण्य छ । सुरक्षाबारेको चासो उठ्नु स्वभाविक हो । निक्षेपकर्तासँगै बैंकहरु पनि चनाखो र सजक हुनुपर्ने खाँचो चाहिँ छ ।

जसरी बैंकले निक्षेपकर्ताको सूचना माग्छ, त्यसैगरी निक्षेपकर्ताले पनि बैंकको सूचना माग्नुपर्‍याे । आफूले पैसा राख्ने बैंकको सबै जानकारी लिनुपर्‍याे । सञ्चालक समिति कस्तो छ, व्यवस्थापन कसरी चलिरहेको छ लगायतका कुरा बुझ्न जरुरी छ । आफ्नो सम्पत्ति राख्ने बेला सबै कुरा बुझ्न पाउने निक्षेपकर्ताको अधिकार पनि हो ।

अर्को कुरा आफूले राखेको पैसाको नियमित रुपमा जाँच गर्नुपर्‍याे । बैंकमा जाँदा खेरि जो कोहीलाई विश्वास गर्नुभएन । दोस्रो व्यक्तिले खाता खोल्नेदेखि अरु सबै सहयोग गरिदिन्छु भन्यो भने उसलाई विश्वास गर्नु हुँदैन । बैंकभित्रैका कर्मचारीबाट मात्र सहयोग लिनुपर्छ ।

खाता खोलिसकेपछि तपाईंको खातामा कति पैसा छ भनेर बैंकले स्टेटमेन्ट दिन्छ, त्यो पनि अद्यावधिक हिसाबले मागि रहनुपर्छ । मोबाइलमा पनि जानकारी आउँछ । मोबाइलमा बैंकका आवश्यक जानकारी आउने बनाउनुपर्छ । बैंकहरुले पनि ती आवश्यक सूचनालाई नेपाली र अंग्रेजी दुवै भाषामा पठाइदिनु पर्छ ।
ग्राहकहरुले चेकबुक, पासबुक, बैंकका पासवर्डहरु त्यो कसैलाई थाहा दिनु हुँदैन ।

बैंकले पनि कर्मचारीलाई परिचयपत्र दिनुपर्छ । अनि ग्राहकलाई हाम्रा कर्मचारीले यस्तो खालको परिचयपत्र बोक्छन् र परिचयपत्र हेरेर मात्र विश्वास गर्नुहोस् भनेर बैंकले भन्नुपर्छ ।

प्रविधि जानेका छौं भने प्रविधि प्रयोग गरेरै आफ्नो खाताबारे अपडेट हुन सकिन्छ । प्रविधि जानेको छैन भने खाता भएको बैंकमा गएर बेलाबेला आफ्नो स्टेटमेन्ट हेर्ने र कागज सुरक्षित राख्ने गर्नुपर्छ ।

अनि आफ्नो चेकबुक सुरक्षित राख्नुपर्छ । कसैलाई सिग्नेचर देखाउन हुँदैन । 

एटीएम कार्ड पनि जहाँ पायो त्यहीँ राख्नु हुँदैन । कतिपयले त एटीएम कार्ड त्यत्तिकै राखेका हुन्छन् । पासवर्ड पनि टेलिफोनमा राख्ने गरेको पनि पाइन्छ । तर यो सुरक्षाको हिसाबले जोखिमपूर्ण हुन्छ । अरुले तपाईंको एटीएमको पासवर्ड सजिलै थाहा पाउने डर हुन्छ । अनि पासवर्ड राख्दा पनि जन्मदिन या अरु कसैले सजिलै नोटिस गर्ने खालको साधारण खालको राख्न हुँदैन । आफूले सम्झिन सक्ने, तर आफूसँग कुनै सम्बन्धित नभएको अर्थात अरुले सजिलै नोटिस नगर्ने खालको राख्नुपर्छ ।

प्रविधिको प्रयोगले सजिलोसँगै कहिले काहीँ अप्ठ्यारो पनि पार्ने भएकाले हामी सचेत हुनुपर्छ ।

एसएमएस कहिले काहीँ ढिलो र कहिले काहीँ नजाने पनि हुन्छ । त्यसैले ठूलो रकम झिक्न आउँदा खातावालालाई फोन गरेर तपाईंले पठाएको हो कि होइन भनेर बैंकका कर्मचारीले सोध्नुपर्‍याे । पहिले गरेका अभ्यासलाई यस्तो बेला दोहोर्‍याउनु पर्छ । एसएमएस गैहाल्छ भनेर मात्र भर पर्नु हुँदैन । ग्राहकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेतर्फ बैंकले ध्यान दिनुपर्छ । 

दुई तीन वर्ष यताको अवस्था हेर्दा यसबीचमा दुई, तीनहजार बैंकका शाखा थपिएका छन् । शाखा थपिएपछि कर्मचारी पनि थपिए । तर कर्मचारीलाई आवश्यक तालिम दिन सकिएन । यसले पनि एउटा अप्ठ्यारो भएको हो ।

बैंकहरुले प्रविधिमा विकास गर्नुपर्छ, ग्राहकहरुमा चेतना बढाउनुपर्छ  

बैंकले नाफा कमाउनुपर्छ, नाफामा ध्यान दिनुपर्छ । यो आवश्यक पनि छ । किनकि बैंकले नाफा कमाएनन् भने वित्तीय क्षेत्र नाजुक हुन्छ । तर नाफाको साथसाथै सूचना प्रविधिको क्षेत्रमा बढी जोड दिनुपर्छ । यसमा चाहिँ अलिकति कमी, कमजोरी चाहिँ देखिएको छ ।

शाखा विस्तार गरिरहँदा बैंकले आफ्ना प्रविधिलाई मजबुत बनाउनु पर्छ । कुनै पति वित्तीय कारोबारलाई चार वटा आँखाले हेर्नुपर्छ भनिन्छ । अब चार वटा मात्रै होइन, आठ वटा आँखाले हेर्नुपर्‍याे । अर्थात एक, दुई जनाबाट मात्र नभएर अलि धेरै अर्थात बढी प्रविधिबाट पास हुने सिस्टम बसाल्नु पर्‍याे । 

बदमासी नियन्त्रण गर्न बैंकहरु सक्षम छन् । तर अहिलेको भन्दा अलिकति बढी प्रयास गर्नुपर्ने चाहिँ देखिएको छ । 

प्रविधिको चोरी गर्ने मानिस बढी बाठा हुने भएकाले बैंकहरु पनि त्यसै हिसाबले सजक हुनुपर्छ । बाहिरबाट कसैले आक्रमण गर्न खोजेको छ कि भनेर अनुगमन गर्ने प्रविधिलाई अपडेट गर्नुपर्छ । 'वाच डग'जस्तै हुनुपर्छ ।

कसैको एकैदिन दुईपटक भन्दा बढी पैसा निकालिएको छ भने उसलाई फोन गरेर तपाईंले नै यसरी पैसा निकाल्नुभएको हो भनेर साेध्नुपर्छ । अर्थात उसलाई यसबारे जानकारी हुनुपर्‍याे ।

सहकार्य बैंक र खातावाला दुवैले गर्नुपर्छ । बैंकलाई मात्र गाली गरेर या खातावालालाई मात्र गाली गरेर हुँदैन । दुवै सक्षम र सचेत हुनुपर्छ । प्रविधिले ग्राहकलाई जानकारी गराउने अनि ग्राहक चाहिँ प्रविधि चलाउन सक्ने हुनुपर्छ । 

शाखा विस्तारसँगै कर्मचारी लिँदा बैंकले कन्ट्याक्टमा भन्दा पनि स्थायी रुपमै राख्नुपर्छ । कर्मचारीको सबै विवरण लिनुपर्छ । एउटा बैंकको नाम सबै कर्मचारीसँग जोडिने भएकाले कर्मचारीलाई भन्नु पर्‍याे कि तपाईँ भनेकै बैंक हो । बैंक तपाईँकै सहारामा बसिरहेको छ भन्ने अनुभूति दिलाउनु पर्‍याे । उसलाई जिम्मेवार र बफादार बनाउनु पर्‍याे । उसको पहिलेको रेकर्डदेखि चालचलन सबै बुझ्नुपर्छ ।

सारांशमा भन्दा बैंकमा पैसा राख्दा डराउनु पर्ने अवस्था छैन । तर ग्राहक र बैंक दुवै सचेत हुनुपर्छ । मुख्य कुरा बैंकवालाले हामी नाफामा मात्रै होइन, सुरक्षामा पनि ध्यान दिइरहेका छौं भनेर विश्वास दिलाउन आवश्यक छ । बैंक सुरक्षित छन् । ढुक्क भएर लगानी गर्दा हुन्छ । डराउनु पर्दैन । तर चनाखो चाहिँ हुनुपर्छ । 

अन्तिम अपडेट: पुस २४, २०७६

अनलराज भट्टराई

बैंकिङ विज्ञ

1 Comments

  • TEJ BAHADUR BHANDARI

    Dec. 12, 2019, 12:26 p.m.

    "ढुक्क भएर लगानी गर्दा हुन्छ । डराउनु पर्दैन । तर चनाखो चाहिँ हुनुपर्छ ।" यसको आशय के हो नि ....सबै पढेलेखेका त हुन्दैनन नि /बैंकमा पैसा राखेर पनि संधै ध्यान दिनुपर्छ भने नराख्ने नि / कति त बैंकका कर्मचारी नै बदमास छन् ,सिधा सोझा देखे भने लुट्ने ...सबै बेइमान !!

  •  0 Reply

तपाईको प्रतिक्रिया