'ए' डिभिजन लिग विजेताले ५० लाख पाउने, तयारीस्वरुप हरेक टिमले २० लाख पाउने

 मंसिर २६, २०७६ बिहिबार १६:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्ने टिमले ५० लाख  रुपैयाँ पुरस्कार पाउने भएको छ ।

यो रकम गर्त वर्षकै बराबर हो । दाेस्राे हुनेले ३५ लाख, तेस्राेलाई २५ लाख,  चाैथाेलाई १५, पाँचाै‌ँलाई ७ लाख र छैटाैं स्थानमा रहने टिमले ५ लाख  रुपैयाँ पुरस्कार पाउने छ ।  शनिबारदेखि काठमाण्डौमा सुरु हुन लागेको ए डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । ए डिभिजन लिगमा यस पटक अन्तर्राष्ट्रिय ब्राण्ड कतार एअरवेजले प्रायोजन गर्ने भएको छ ।

ए डिभिजन लिग सञ्चालन गर्नका लागि ६ करोड ३० लाख लाग्ने अनुमान गरिएको छ भने सबै १३ टिमले तयारीबापत २०-२० लाख रुपैयाँ पाउने भएका छन् । यसैगरी प्रतियोगितका हरेक खेलमा विजयी हुने टिमलाई म्याच मनीबापत ५० हजार प्रदान गर्ने र खेल बराबरीमा सकिए दुवै टिमलाई १५-१५ हजार प्रदान गरिने छ ।

कतार एअरवेजले प्रायोजनबापत अखिल नेपाल फुटबल संघ एन्फालाई दुई किस्तामा गरी १ लाख ५० हजार अमेरिकी डलर(झण्डै १ करोड ७० लाख रुपैयाँ) प्रदान गर्ने छ ।

प्रत्येक खेलको म्यान अफ् द म्याच पाउनेले १० हजार पाउने छ भने अन्तिमा पाँच उत्कृष्ट विधाका खेलाडीलाई नगद १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाका महासचिव ईन्द्रमान तुलाधरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी एन्फाले दशरथ रंगशालाको खेलका लागि टिकट दर पनि तय गरेको छ । साधारणतर्फ २ सय रुपैयाँ तय गरिएकोमा भीआईपी तर्फका प्यारापिटको टिकट मूल्य भने ५ सय रुपैयाँ तय गरेको छ । टिकटबाट १ करोड संकलन हुने एन्फाले अपेक्षा गरेको छ । ए डिभिजन लिग शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया