कांग्रेसकाे आन्तरिक विवादमा सतहमा, पाैडेल पक्षद्वारा बैठक बहिष्कार

 मंसिर २६, २०७६ बिहिबार १८:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद सतहमा आएको छ । 

रामचन्द्र पौडेल पक्षका नेताहरुले बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेसँगै कांग्रेसको विवाद सतहमा आएको हो । कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिष्कार गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

विधान अनुसार महाधिवेशनका लागि ३ महिनाको समय मात्रै बाँकी रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिकाको एजेण्ड बैठकमा राख्न नमानेपछि बैठक बहिष्कार गरिएको उहाँको भनाइ छ । मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्ने यसअघिको निर्णय भए पनि त्यो नभएको उहाँले बताउनुभयो ।

पार्टीका आन्तरिक कामहरु समयमै सम्पन्न गरी पार्टीलाई प्रभावकारी ढंगले एक भएर अगाडि बढ्नुपर्ने समयमा अरु अरु कुराहरु लिएर महाधिवेशन टार्ने नियत देखिएको उहाँको भनाइ छ ।

बैठकमा एजेण्डा मिलाएर जाँउ भन्दा पनि सभापति देउवाले नटेरेको उहाँले बताउनुभयो । मूल कुरालाई बैठकमा प्रवेश नै नगराउने तर विधानले गरेको व्यवस्था भन्दा अर्को व्यवस्था गर्न थालेपछि बैठकमा बस्नुको कुनै आवश्यकता नरहेको उहाँको भनाइ छ । बैठकमा आफ्ना कुरा नसुनेर जसरी पनि बहुमतबाट पेलेरै जानुपर्छ भन्ने प्रवृति हाबी हुनु आपत्तिजनक भएको उहाँले बताउनुभयो । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा नराख्दा सम्म सहभागी नहुने अडान पौडेलले लिनुभएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरु हुनु नै अन्त्य हुनु नभएको र प्रस्ताव आउनु नै पारित हुनु नभएको बताउनुभएको छ । बैठकमा सीमा अतिक्रमणका सन्दर्भमा पार्टीले पहिले नै आफ्नो आधिकारिक धारणा व्यक्त गरे पनि बैठकमा प्रस्ताव पेश भएको उहाँले बताउनुभयो ।

पार्टीको तेस्रो चरणको जागरण अभियान सञ्चालन, पार्टीका २८ वटा विभागहरु बढाएर ४१ बनाउने, उपनिर्वाचनको समीक्षा र तरुण दलले थप गरेको ६ महिनाको समय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो । तेस्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुरमा अन्तक्रिया आयोजना गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी गण्डकी प्रदेशको दमौली, प्रदेश ५ को तौलिहवा, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा गर्ने गरि प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताउनुभयो । माघ १६ गतेबाट २५ सम्म अभियान सञ्चालन गर्नेगरि छलफल सुरु भएको उहाँले बताउनुभएको छ ।

२०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्ता छन् देउवाले प्रस्ताव गरेका ४१ विभाग

१. सङ्गठन विभाग
२. सूचना, सञ्चार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. आर्थिक नीति तथा योजना विभाग
६. अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग
७. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९. संसदीय मामिला विभाग
१०. संवैधानिक तथा कानुन विभाग
११. स्थानीय तह समन्वय विभाग
१२. महिला विभाग
१३. तरुण विभाग
१४. विद्यार्थी विभाग
१५. जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६. पेशागत तथा बुद्धिजीवी विभाग
१७. शिक्षा विभाग
१८. स्वास्थ्य विभाग
१९. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०. उद्योग व्यापार विभाग
२१. पर्यटन विभाग
२२. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३. कृषि तथा किसान विभाग
२४. आदिवासी जनजाति विभाग
२५. खेलकुद विभाग
२६. प्राकृतिक स्राेत विभाग
२७. साहित्य, कला तथा संस्कृति विभाग
२८. श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९. फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०. दलित विभाग
३१. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२. मुस्लिम विभाग
३३. वन तथा वातावरण विभाग
३४. तराई मधेश विभाग
३५. वित्तीय संस्था तथा सहकारी समन्वय विभाग
३६. पिछडिएको क्षेत्र समन्वय विभाग
३७. विज्ञान तथा प्रविधि विभाग
३८. भू.पू. सैनिक विभाग
३९. अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया