राष्ट्रिय सभा सदस्यकाे चुनाव माघ ९ गते

 मंसिर २६, २०७६ बिहिबार २०:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले राष्ट्रियसभा सदस्यको चुनाव आउँदाे माघ ९ गते बिहीबार गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंसिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते चुनाव गर्ने र त्याे सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । राष्ट्रियस भाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । त्यसअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डाक्टर युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थ मन्त्रीसमेत रहनुभएका राष्ट्रियसभा सदस्य डाक्टर युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको थियो । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ ।

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका मतदाता हुन् ।

यो चुनावमा पहिलो हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो चुनाव प्रत्येक प्रदेशमै हुने र त्यही त्यही प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनुहुनेछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया