सामान्य विवादमा मुस्ली प्रहार हुँदा युवककाे ज्यान गयाे

 मंसिर २७, २०७६ शुक्रबार १६:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - टाउकोमा मुस्ली प्रहार हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको ज्यान गएको छ ।

बिहीबार राति भएको झगडाका क्रममा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो ।

टाउकोमा गम्भीर चोट लागेपछि अटोमा हालेर हलेसीमा रहेकाे एक क्लिनिकमा ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घट्नामा संलग्न तीनै जना फरार रहेकाले घटनाबारे थप अनुसन्धान गर्न र फरारहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएकाे छ ।

दाजु अर्जुनसहित भूकम्प पुःननिर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जना बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया