कर्णाली प्रिमियर लिगमा एबीसी, रुपन्देही ११ र धनगढी विजयी

 जेठ ९, २०७५ बुधबार २०:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत, जेठ ९ – सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत सातौँ दिनको खेलहरुमा एबीसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमीले जित हात पारेका छन् ।

आज सम्पन्न खेलहरुपछि समूह ‘बी’ बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४ खेलमा ३ जित र १ हार पछि मध्य–पश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । समुह ‘ए’ बाट रुपन्देही ११ ले ४ खेलमा ४ वटै जितको साथ सेमीफाइनलमा स्थान पक्का गरेको छ भने बिहिबार हुने खेलपछि दोश्रो टिमको टुंगो लाग्नेछ । 

पहिलो खेल 

बुधबारको पहिलो खेलमा एबिसी स्पोर्ट्स क्लबले रोयल राइजिंग क्लबलाई ६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको एबीसी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

एबीसीका लागि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए । रोयल राइजिङका बलर सन्दीप शाहीले ३ विकेट लिए । १४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ क्लबले ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो । रोयलको लागि सुमन गुरुङ्गले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए । एबीसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच दिनेश अधिकारी चुनिए ।

दोश्रो खेल 

बुधबार सम्पन्न दोश्रो खेलमा रुपन्देही ११ ले प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा महाकाली क्रिकेट क्लबलाई १०४ रनको विशाल अन्तरले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गरेको रुपन्देही ११ ले ५ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार गरेको थियो । रुपन्देहीका लागि निश्चल चौधरीले ५१ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रन बनाए । त्यस्तै शक्ति गौचनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४२ रन जोडे । बलिङ्गतर्फ महाकालीका हेमन्त धामी र आकाश चन्दले समान २–२ विकेट हात पारे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा महाकालीले ७ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । महाकालीका लागि कप्तान रोबिन क्षेत्रीले २८ तथा पारस केसीले २६ रन बनाए । रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दीप सुनार र बिक्रम भूसालले समान १–१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी घोषित भए ।

तेश्रो खेल 

तेश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो ।

धनगढीका लागि बिराट भण्डारीले सर्वाधिक २४ रन, दुर्गेश थापाले २० रन, सचिन लेखकले १६ रन, प्रितम थापाले अविजित १५ रन तथा भोजराज भट्टले अविजित ११ रनको योगदान दिए । धनगढीका बलर पवन कार्कीले सर्वाधिक २ विकेट लिए ।

धनगढी क्रिकेट एकेडेमीले १७.५ ओभरमा ६ विकेट गुमाएर १४२ रनको लक्ष्य भेट्टायो । ७० रनमा ५ विकेट गुमाएको अवस्थामा एकेडेमीका कप्तान भुवन कार्कीले किशन बिस्टसँग छैठौं विकेटको लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।

टिमलाई जिताउन विजयी चौका प्रहार गरेका भुवनले अविजित ७४ रनको इनिंग खेले । यस क्रममा उनले मात्र ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । बिपिन रावलले ३० तथा सुबोध ऐरले १९ रन योगदान दिए भने किशनले ९ रन जोडे ।

काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरको लागि भोजराज भट्टले ३ तथा बिपिन आचार्यले २ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच भुवन कार्की घोषित भए।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया