'पहिला अलैँची किलाेकाे २५ सयसम्ममा बेच्थ्याैँ, अहिले काैडीकाे भाउमा पनि बेच्न गाह्राे छ'

 पुस १, २०७६ मंगलबार २०:४:४२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापका किसानहरु अलैँचीको उचित मूल्य नपाउँदा मारमा परेका छन् । 

परम्परागत रुपमा मकै, कोदो, गहुँ लगायतका बालीहरुमा उत्पादनमा गिरावट आउन थालेपछि किसानहरुले वैकल्पिकरुपमा अलैँची खेती सुरु गरेका थिए । केही समयअघि अन्य बालीभन्दा अलैँची खेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भन्दै किसानहरु अलैँची खेतीतर्फ आकर्षित भएका थिए । 

व्यवसायीहरु अलैँची खरिद गर्न किसानको घर घरमै आउने र मूल्य पनि उचित पाउन थालेपछि किसानहरुले परम्परागत खेती त्यागेर अलैँची खेतीलाई व्यावसायिकरुपमा सुरु गरेका थिए । 

सुरुमा अलैँची प्रतिकेजी २ हजार ६ सयमा बिक्रि हुन थालेपछि किसानहरु हुरुक्क हुन थाले । तर व्यावसायिकरुपमा खेती गर्न थालेका किसानहरु यतिबेला केजीको ५ सय हुँदा समेत बजार नपाएपछि चिन्तित भएका हुन् । 

उत्पादन गर्न लागेको खर्चअनुसार बिक्री नै नभएपछि किसानहरु घरमा नै अलैँची थन्काएर बस्न बाध्य भएका छन् ।

विशेषगरी रामेछापका अलैँची उत्पादन हुने गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती, भुजी, गुप्तेश्वर लगायत क्षेत्रका किसानलाई मार परेको उमाकुण्ड गाउँपालिका ३ को कुभुकास्थलीका स्थानीय किसान बालकुमार कार्कीले गुनासो गर्नुभयो । 

‘विगतको वर्षभन्दा यस वर्ष उत्पादन घटे पनि अहिले अलैँची कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो, ‘घरमा अहिले १० टनभन्दा बढी अलैँची थन्किएको छ । अब त बिक्री नहोला कि भन्ने डर भइसक्यो ।’

रामेछापमा ग्लोसाइ, रामशाही र चिवेशाही गरी तीन प्रजातिको अलैँची खेती गरिँदै आएको छ । 

लेकाली भूभागमा वर्षाको समयमा बढी मात्रामा पानी पर्ने र हिउँदको समयमा बढी हिमपातसहित तुसारो पर्ने गरेकाले पनि अलैँची खेती लगाउने किसानहरुको आम्दानी मौसमअनुसार घटबढ हुने कुभुकास्थलीका अर्का किसान भरतकुमार बस्नेतले बताउनु भयो ।

‘पहिले त अलैँची छ भन्ने थाहा पाएपछि झापा, विराटनगर, वीरगञ्ज र काठमाण्डौ लगायतका ठाँउबाट व्यवसायीहरु आउँँथे’, उमाकुण्ड गाउँपालिका २ वाम्तीका किसान रोकट बस्नेतले दुखेसो पोख्दै भन्नुभयो,  ‘यस वर्ष अलैँचीले बजार नपाउँदा हामी हैरान भएका छौँ ।’   

रामेछापको उमाकुण्ड, गोकुलगंगा, दोरम्बा र लिखु तामाकोशी गाउँपालिकामा गरी झण्डै ५ सयभन्दा बढी किसानहरुले अलँँची खेती गर्दै आएका छन् । 

किसानहरुले उत्पादन गरेको अलैँची बिक्रीको लागि केही व्यवसायीहरुसँग छलफल भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया