के भयो ‘गोरे’को पहिलो दिनको पाँच घण्टे बयानमा ?

 जेठ ९, २०७५ बुधबार २०:१९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ, जेठ ९ – मंगलबार मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीको बुधबारको बयान सकिएको छ ।

जिल्ला अदालतले ‘गोरे’को बयान बिहान पौने ११ बजेदेखि सुरु गरेको थियो । पौने ११ बजेदेखि सुरु भएको बयान दिउँसो २ बजे १ घण्टाको लागि खाजा समय बाहेक ५ बजेसम्म नै जारी रह्यो ।

गोरेको बयान सुरु भए लगत्तैबाट प्रहरीले इजलाशमा बाहिरी मान्छेलाई प्रवेशमा रोक लगाएको थियो । सम्बन्धित मुद्दाका वकिल एकजना कर्मचारी तथा न्यायाधिश बाहेकलाई इजलाशमा कसैलाई छिर्न दिइएको थिएन । तर नियमित तालिका अनुसार निकालिएका मुद्दाका पेशीहरुमा भने बहस भई नै रहेका थिए । 

साँढे पाँच घण्टासम्मको बयानमा गोरेले आफ्नो सुरक्षाको माग गरेका छन् । गोरेले प्रहरी हिरासतमा मानव अधिकार निगरानीको माग गरेका छन्  । प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा मानव अधिकार निगरानीको माग गर्दै निवेदन दिएका हुन् ।

उनले यसअघिका घटनामा पनि केही व्यक्तिको हिरासतमा नै ज्यान गएकाले आफ्नो सुरक्षाको कारण देखाउँदै मानव अधिकारकर्मीको निगरानीको माग गर्दै निवेदन दर्ता गराएको उनका वकिल यमबहादुर मगरले बताउनुभयो । मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा निगरानीको व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल मगर स्वंयमले अदालतमा निवेदन दर्ता गराएका थिए ।

अदालत स्रोतका अनुसार उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि क्रमबद्ध रुपमा सोधपुछ भएको छ । उनले सिन्धुली पुग्दासम्मको विवरण बताएका छन् । उनको बयान बिहीबार पनि जारी रहनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया