आप्रवासी कामदार दिवस : सीप र रोजगारीलाई प्राथमिकता

 पुस २, २०७६ बुधबार १६:३८:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, नेपालमा सप्ताहव्यापी रुपमा मनाइयो । आप्रवासी श्रमिक र उनीहरुका परिवारका अधिकारका विषयमा छलफल, कुराकानी र बहस भए । 

देश छाडेर कमाउन विदेश पुगेका श्रमिकको अधिकार, उनीहरुले पाउने सेवा सुविधा तथा पारिश्रमिकमा भैरहेको र हुनसक्ने  विभेदको अन्त्य गर्न डिसेम्बर १८ का दिन संसारभर यो दिवस मनाइने गरिन्छ । 

भाषा, चालचलन र रहनसहन नमिल्ने देशमा श्रमिकको अधिकार संरक्षण होस् भनेर संयुक्त राष्ट्र संघले १८ डिसेम्बर सन् १९९० मा आप्रवासी श्रमिक र उनीहरुका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धी पारित गरेको थियो । त्यसको १० वर्षपछि सन् २००० देखि १८ डिसेम्बरलाई दिवसकै रुपमा मनाउन थालिएको हो । 

सन् २०१९ सम्म आइपुग्दा अहिले आप्रवासी श्रमिकको मानवअधिकार संसारकै लागि ठूलो चुनौती बनेको छ । देश छाडेर दुई चार पैसा कमाउन परदेश पुगेकाहरु परदेशमा शान्तिसँग काम गर्न चाहन्छन् । तर उनीहरुले आप्रवासी श्रमिक भएकै कारण विभिन्न समस्या र विभेद भोग्नु पर्छ । 

आप्रवासी श्रमिक र उनीहरुका परिवारको अधिकार संरक्षणका लागि काठमाण्डौका विभिन्न होटलमा, सडकमा, गाउँ गाउँमा, जिल्ला जिल्लामा दिवसका अवसरमा कार्यक्रम गरिए पनि विदेशमा काम गरिरहेका श्रमिक भने यस्ता कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् । धेरैलाई त दिवसको बारेमा थाहा नै छैन ।

दिवसको अवसरमा वर्षमा एक पटक हुने कार्यक्रमले श्रमिकका समस्याको समाधान निकाल्छन् त ? भन्ने प्रश्न वर्षैभरि जन्मिरहन्छन् । 

सीप र रोजगारीलाई प्राथमिकता

आप्रवासी कामदारको न्यायमा पहुँच नहुने लगायतका चुनौती भैरहँदा नेपालले दिवसको अवसर पारेर यो वर्ष सीप र रोजगारीलाई मुख्य प्राथमिकता दिएको छ ।

सरकारी तथ्याँकअनुसार झण्डै ७५ प्रतिशत अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याँकअनुसार गएको वर्ष पाँच लाख ८ हजार ८ सय श्रमिकले विदेश जान अन्तिम श्रम स्वीकृति लिएकोमा दुई लाख ८५ हजारभन्दा धेरै अदक्ष छन् ।

त्यसैले सीप सिक्न र सीप भएमा  स्वदेश तथा विदेश जहाँ पनि सजिलै रोजगारी पाइन्छ भन्ने सन्देश दिने काम भैरहेको वैदेशिक रोजगार बार्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउनुहुन्छ । 

‘हरेक वर्ष दिवसमा विभिन्न कार्यक्रम हुन्छन्, तर यो वर्ष भने कार्यक्रम कार्यक्रम मात्र नहोस् भनेर हामीले श्रमिकका मुद्दामाथि छलफल गर्ने र छलफलबाट आएका सुझाव हामीलाई बुझाउन भनेका छौं, त्यसबाट आएका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्छाैं, कमिकमजोरी भए सच्याउँछौं’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘देश, विदेशमा गरिने कार्यक्रमबाट सरकारले सित्तैमा सीप सिकाउँदैछ, सीप सिक्नुहोस् भन्ने सन्देश दिन चाहेका हौं ।’

यो वर्ष वैदेशिक रोजगार बोर्डले मात्र विदेश जाने तयारीमा रहेका १५ हजार युवालाई निःशुल्क सीप प्रदान गर्दैछ । विदेशमा आवश्यक पर्ने विभिन्न १९ प्रकारका सीप सिकाउने बोर्डले जनाएको छ । 

स्वदेशमा होस् या विदेशको श्रम बजारमा सीप नै रोजगारीको पहिलो आधार हो । हातमा सीप भए काम खोज्न विदेश नै जान पर्छ भन्ने छैन । 

सुरक्षित वैदेशिक रोजगारीका लागि पालिकालाई जिम्मेवार बनाइँदै

अहिले सुरक्षित वैदेशिक रोजगारीका लागि पालिकालाई बढी जिम्मेवार बनाउन खोजिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ । सरकारले अहिले ७५३ वटै पालिकामा सीप र रोजगारीका लागि समन्वय गर्न रोजगार सेवा केन्द्र र रोजगार संयोजक नियुक्ती गरेको छ । 

वैदेशिक रोजगारीमा जानेको तथ्याँक संकलन तथा व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई वित्तीय साक्षरता कक्षा सञ्चालन, तालिम सञ्चालन लगायतका जिम्मेवारी पालिकालाई छ ।

वैदेशिक रोजगारीमा जानेको मात्र हैन वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सामाजिक पुनःएकीकरण एवं पुनःस्थापना र वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप र उद्यमशिलताको उपभोगमा पालिकाको भूमिका महत्वपूर्ण हुन्छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया