अभिनेता फरहान अख्तर नागरिकता कानुनको विरोधमा सडकमा उत्रने !

 पुस ३, २०७६ बिहिबार ७:२४:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – नयाँ नागरिकता कानुनको विरोधमा भारतको विभिन्न भागमा आवाज उठिरहेको छ । यसको विरोधमा भारतीय कलाकारहरुले पनि आवाज उठाइरहेका छन् । 

केही कलाकारहरुले त सामाजिक सञ्जालमा खुलेर यो कानुनको विरोध गरेका छन् । त्यस्ते अभिनेता तथा निर्देशक फरहान अख्तरले बिहीबार नयाँ कानुनको विरोध गर्न सडकमा उत्रने बताएका छन् । 

४५ वर्षीय अभिनेताले सामाजिक सञ्जालमा एक्लै विरोध गर्ने समय गएको र बिहीबार मुम्बईको विरोध प्रदर्शनमा सहभागी हुन मानिसहरुलाई अपिल पनि गरेका छन् । 

फरहानले नयाँ नागरिकता कानुनलाई लिएर फरक फरक बिन्दुमा चर्चा पनि गरेका छन् । उनले एउटा तस्बिर साझा गर्दै नेशनल रजिस्टर अफ् सिटिजन्स (एनआरसी) लाई लिएर पनि चिन्ता व्यक्त गरेका छन् । एनआरसीको कारण असमका नागरिकहरुले गिरफ्तारी र निर्वास भोग्छन् कि भन्ने आफूलाई डर लागेको फरहानले बताएका छन् । 

उनले ट्वीटमा भनेका छन्, ‘विरोध प्रदर्शन किन जरुरी छ भनेर तपाईँले जान्न जरुरी हुन्छ । १९ डिसेम्बरमा मुम्बईको अगस्त क्रन्ति मैदानमा भेट्नेछौँ । अब सामाजिक सञ्जालमा विरोध गर्नुको कुनै अर्थ छैन ।’

यो ट्वीट गरेका केही घण्टामा नै फरहानले एक ग्रयाफिक पोस्ट गरेपछि माफी माग्दै भने, ‘पहिलेको ट्वीटमा भारतको नक्सा भुलवश राखेँ । कश्मीरको प्रत्येक इञ्च भारतको हो र म गलत नक्सा खारेज गर्छु । पहिलो ट्वीटमा सतर्क नबन्दा मलाई खेद लागेको छ ।’

फरहानले मात्रै यो कानुनको विरोध गरेका छ्रैनन् । यसको विरोधमा कैयौँ कलाकार अघि सरे । अभिनेत्री सोनाक्षी सिन्हाले पनि ट्वीटरमा यसको विरोध गरेकी छिन् । सोनाक्षीले ट्वीटमा भनेकी छिन्, ‘हामीहरु जो थियौँ, हामी जो छौँ र जो हामी हुनुपर्छ ।’ उनले संविधान प्रस्तावनाको तस्बिर पनि पोस्ट गरेकी छिन् । 

पछिल्लो केही दिनदेखि नयाँ नागरिकता कानुनको विरोध भइरहेको छ । यो कानुनपछि सने २०१५ भन्दा अघि भारतमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका गैरमुस्लिमले भारतको नागरिकता प्राप्त गर्नेछन् । यो कानुनको विरोध गर्नेहरुले मुसलमानमाथि भेदभाव गरिएको निष्कर्ष छ ।

उनीहरुले धर्मको आधारमा भारतीय नागरिकता दिन नसकिने बताएका छन् । तर यो कानुनमा धर्मको आधारमा नागरिकता दिने प्रावधान छ, जुन भारतीय संविधानको विरुद्ध हो । 

पछिल्लो हप्ताको आइतबार जामिया मिल्लिया विश्वविद्यालय र अलीगढ विश्वविद्यालयमा प्रहरी कारबाहीलाई लिएर धेरै कलाकारले आलोचना गरेका थिए ।

आयुष्मान खुराना, राजकुमार राव, परिणीति चोपडा, तापसी पन्नु, मनोज वाजपेयी, कोंकणा सेनशर्मा, अनुराग कश्यय, महेश भट्ट र सुधीर मिश्रा लगायतले प्रहरी कारबाहीको विरोध गरेका थिए । 

अभिनेत्री हुमा कुरैशीले ट्वीटमा भनेकी छिन्, ‘यो ठिक होइन । भारत एक धर्मनिरपेक्ष र लोकातान्त्रिक देश हो । विद्यार्थीमाथि प्रहरी जसरी उत्रिएको छ, यो निकै डरलाग्दो छ । मानिसहरुसँग शान्तिपूर्ण विरोधको अधिकार छ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया