दुर्घटनामा परेका पत्रकार खनालको निधन

 साउन ४, २०७५ शुक्रबार १२:६:२ | रासस
unn.prixa.net

झापा – पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं नेपाल पत्रकार संघका पूर्व अध्यक्ष खनाल ७१ वर्षको हुनुहुन्थ्यो । 

बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गए राति खनालको निधन भएको उहाँका भतिजा भानुभक्त खनालले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उहाँलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो । ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 

मृतकको शवलाई कनकाई नदीमा आजै दिउँसो अन्त्येष्टि गरिने भएको छ । विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिनुभएका खनालको बिर्तामोड–४ बसोबास थियो । 

उहाँले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गर्नुभयो भने मेरो अमेरिका यात्रा र बेलाबेलाको बोली नामक दुई वटा कृति प्रकाशित गर्नुभएको थियो । उहाँका एक श्रीमती र दुई छोरा छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया