भारतीय नम्बरकाे जीप पल्टिँदा उदयपुरमा ३ जनाको ज्यान गयाे, ५ जना घाइते

 पुस ३, २०७६ बिहिबार १३:५०:४२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। 

उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय नम्बरकाे जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टिँदा उदयपुरगढी गाउँपालिका-३, का ६० वर्षीय सेत बहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो ।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बिहान साढे सात बजे भएको दुर्घनामा अन्य ५ जना घाइते भएका हुन् ।

पाँचमध्ये ३ जना गम्भीर घाइते भएकाले उदयपुरबाट बाहिर रिफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरिले बताउनु भयो ।

नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढीबाट घटनास्थलतर्फ प्रहरी खटाइएको जिल्ला प्रहरी प्रमुख तथा एसपी बीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया