घरको जग बसाल्नुभयो कि बाँकी नै छ ? तोकिएको समयसीमा सकियो, अब के होला ?

 साउन ४, २०७५ शुक्रबार १३:४३:५७ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – दोलखाको बिगुका यमबहादुर थामीले अझै पनि नयाँ घर बनाइसक्नु भएको छैन । तोकिएको समयसीमा सकिने दिन सोमबार अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईको कार्यालय दोलखामा भेटिनुभएका उहाँले सोध्दै हुनुहुन्थ्यो ‘सरकारले जसरी ह्विप लगाएको थियो, त्यसैगरी काम गर्न सकिएन अब के होला ? 

थामीको अर्को पनि गुनासो थियो,‘ असार २७ गते घर ढलान गरी जाँच गर्न इन्जिनियर बोलाएको ३२ गते विहान ९ बजेलाई समय दिनुभएको थियो । तर ११ बजेसम्म कुर्दा पनि आउनुभएन । मैले दोस्रो किस्ता लिनु त के घरको पहिलो ढलान तह निरीक्षण गरी फोटो खिचेर ओके पनि भएकै छैन । हुन त गाउँमा दोस्रो किस्ता लिन बाँकी म मात्रै होइन, अरु पनि धेरै छन् उहाँले भन्नुभयो, ‘सरकारले पक्कै विचार गर्ला नी ?

झण्डै साढे २ लाख भूकम्प प्रभावित दोस्रो किस्ताको प्रकृयामा आउनै बाँकी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो पटक चैत २० गते तीन महिना म्याद थप गरी असार मसान्तभित्र भूकम्प प्रभावित लाभग्राहीलाई दोस्रो किस्ताको रकम लिन आग्रह गरेको थियो । तर अझै पनि २ लाख ४९ हजार ५ सय भूकम्प प्रभावित दोस्रो किस्ताको प्रकृयामा आउन सकेका छैनन् । (यो तथ्याङक पहिलो किस्तामा ५० हजार रुपैयाँ लिने र अहिलेसम्म दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ लैजाने विचको अन्तर हो) । प्राधिकरणको पछिल्लो तथ्याङक अनुसार जम्मा लाभग्राही ८ लाख ७ हजार ४ सय ८६ छन् । ती मध्ये ७ लाख २२ हजार १९ जनासँग अनुदानको सम्झौता भएको छ । ८९ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ । 

पहिलो किस्ता ७ लाख १३ हजार ८ सय ९३ जनाले लगेका छन् । ८८ प्रतिशतले ५० हजार रुपैयाँ लगिसकेका छन् । अहिले सम्म दोस्रो किस्ता लिने ४ लाख ६४ हजार ३ सय ९१ जना छन् । यो कुल लाभग्राहीको ५८ प्रतिशत हुन आउँछ । त्यसैले अझै ४२ प्रतिशत भूकम्प प्रभावितले दोस्रो किस्ता लिन बाँकी नै छ । त्यस्तै तेस्रो किस्तामा १ लाख रुपैयाँ पनि लिइसक्ने २ लाख २१ हजार ७ सय ७६ जना पुगेका छन् । यो कुल लाभग्राहीको २७ प्रतिशत मात्रै हो । गएको चैतमा दोस्रो किस्ताको म्याद थप्दै गर्दा जग हालिसक्नेले बैशाख, जेठमा छानो पनि छाइसकेका छन् ।

मनसुनको समय भएकाले जेठ र असारमा निजी आवास पुनर्निर्माणको काम केहि प्रभावित भएको छ । प्राविधिक, डकर्मी, निर्माण सामग्री, आर्थिक अभाव, पारिवारिक जटिलता जस्ता विभिन्न कारण प्रभावितले तोकिएको समयमा घर निर्माण सुरु गर्न नसकेको गुनासो आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुरका प्रमुख रामेश्वर मरहट्टा बताउनुहुन्छ ।

अब के हुन्छ ?

समयसीमा भित्र दोस्रो किस्ताका लागि निवेदन दिन नसकेका भूकम्प प्रभावितलाई अब के हुन्छ त भन्ने अन्यौल भएको छ । कसैले बर्खाकै बेला पनि घरको जग बसालेका छन् । तर घर बनाउन सुरु नै नगरेका र अहिले बनाउँदै गरेका तर दोस्रो किस्ताका लागि निवेदन दिन नभ्याएका भूकम्प प्रभावितलाई समयसिमाले अलमल पारेको छ । त्यस्तै अलमल प्राधिकरणमा पनि देखिएको छ । असार मसान्त सकिन हप्ता १० दिन मात्रै बाँकी रहेका बेला प्राधिकरण नेतृत्वविहीन बनेको छ । यसैकारण असार २४ गते बस्ने भनिएको निर्देशक समितिको बैठक समेत बस्न सकेन । समयसिमा थप गर्ने निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले गर्नुपर्ने हुन्छ । प्राधिकरणले असार २४ गते निर्देशक समितिको बैठक बस्नेगरी छलफल र तयारी अगाडी बढाएको थियो ।

तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल त्यसको दुईदिन अघि २२ गते नै पदमुक्त हुनुभयो । त्यसैले नयाँ सिइओ नियुक्त नहुँदा सम्म तत्काल निर्देशक समितिको बैठक बस्न सक्ने अवस्था पनि छैन । तोकिएको समयअवधि सकिएपनि घर पुनर्निर्माण र अनुदान वितरणको काम पुरानै प्रकृयामा अगाडी बढाउन प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले आग्रह गर्नुभएको छ ।

‘अनुदान लिएपनि घर बनाउन म्याद नतोकिँदा जहिले काम सुरु गरेपनि हुन्छ भन्ने बुझाईले समयसीमा निर्धारण गरिएको हो उहाँले भन्नुभयो, ‘सरकारले यसै आर्थिक वर्षभित्र घर पुनर्निर्माणको काम सक्ने लक्ष्य राखेको हुँदा कामलाई निरन्तर अगाडी बढाउनुपर्ने अवस्था छ ।’ दोस्रो किस्ता लिन तोकेको म्याद सकिएकै कारण भूकम्प प्रभावित अनुदान लिनबाट बञ्चित नहुने तर अनुदान लिएर पनि नियतबस घर नबनाउनेहरुले रकम फिर्ता गर्न सक्ने प्राधिकरणले स्पस्ट पारेको छ ।

घर पुनर्निर्माण र अनुदान वितरणको पछिल्लो तथ्याङक

जम्मा प्रभावित लाभग्राही : ८,०७,४८६
अनुदान सम्झौता सम्पन्न :    ७,२२,०१९ 
सम्पन्न घर संख्या :    २,५२,३५१
बन्दै गरेका घर : ५,१९,४६९
पहिलो किस्ता वितरण : ७,१३,८९३
दोस्रो किस्ताको निवेदन दिने : ४,८९,१५३
दोस्रो किस्ता प्रमाणिकरण : ४,७८,२६०
दोस्रो किस्ता वितरण : ४,६४,३९१
तेस्रो किस्ता वितरण    : २,२१,७७६
 

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया