राेनाल्डाेलाई बेचेपछि रियलकाे आँखा यी चर्चित खेलाडीहरुमाथि

 साउन ४, २०७५ शुक्रबार १५:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडका अध्यक्ष फ्लोन्टिनो पेरेजले यस अघि नयाँ सिजनमा केही ‘शानदार’ खेलाडी आवद्ध गर्ने बताएका थिए । 

उनले सन् २०१८–१९ सिजनमा रियल मड्रिड भिन्न रुपमा प्रस्तुत हुने समेत बताएका थिए ।

प्रशिक्षक जिनेदिन जिदान र रोनाल्डोको बहिर्गमनपछि रियल मड्रिडलाई यो सिजनमा केही अप्ठेरो हुने अनुमान गरिएको छ । 

जिदानको स्थानमा जुलेन लोपेटेगीलाई आवद्ध गरेपनि रोनाल्डोका खाली ठाउँ पूरा गर्नका लागि रियलले विश्वका केही उत्कृष्ट खेलाडीहरु आवद्ध गर्न कसरत गर्दै आएको छ ।

नौ वर्षमा ४५० गोल गरेका रोनाल्डोको ठाउँमा रियलले केही उत्कृष्ट खेलाडी आवद्ध गर्न दौडधुप समेत बढाएको छ ।

रियलका आँखामा परेका खेलाडीहरु यहाँ समावेश गरिएको छ ।

नेयमार– फरवार्ड (पीएसजी)

अध्यक्ष फ्लोरेन्टिनो पेरेज लामो समयअघि देखि नेयमारलाई आवद्ध गर्न इच्छुक छन् । 

ब्राजिलियन फरवार्डलाई आवद्ध गर्नका लागि पेरेजले यस अघि नै दुई पटक औपचारिक प्रस्ताव राखिसकेका छन् । पेरेजल नेयमारलाई पहिलो पटक सन् २००५ मा रियलमा ट्रायल दिन आएका बेला प्रस्ताव गरेका थिए ।

तर नेयमारले त्यतिबेला घरेलु क्लब सान्तोसमा खेल्ने निर्णय गरेका थिए । त्यसपछि उनले सन् २०१३ मा दोस्रो प्रस्ताव गरेका थिए । 

सन् २०१३ मा राखेको त्यो प्रस्ताव इन्कार गर्दै नेयमार रियलको प्रतिद्वन्द्वी बार्सिलोनामा आवद्ध भए ।

तर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेइन पुगेका नेयमार पेरेजका लागि यस पटक भने सकारात्मक देखिएका छन् । 

सार्वजनिक रुपमै नेयमारलाई आवद्ध गर्न इच्छुक नभएको बताए पनि रोनाल्डोको स्थानमा नेयमारलाई उपयुक्त ठान्दै आएको छ । 

केलियन एमबाप्पे– फरवार्ड (पीएसजी) 

केलियन एमबाप्पे नेयमार जस्तै रियलका अर्का लक्षित खेलाडी हुन् । यद्धपि एमबाप्पेलाई रियलले सार्वजनिक रुपमै अनुबन्ध नगर्ने जनाइसकेको छ । 

तर पनि एमबाप्पेलाई अनुबन्ध गरेमा रोनाल्डोको स्थान पूर्ति हुन सक्ने प्रशिक्षण टोलीको धारणा छ ।

गएको जनवरीमा १९ वर्षे फरवार्ड सम्झौताका लागि उपलब्ध भएपनि रियललाई पछि पार्दै पीएसजीले आफ्नो क्लब भित्राउन सफल भएको थियो ।
 
इडेन हाजार्ड– एट्याकिङ् मिडफिल्डर (चेल्सी)

नेयमार र एमबाप्पेलाई आवद्ध गर्न केही कठिनाई भइरहेको अवस्थामा इडेन हाजार्ड रियलका लागि उपयुक्त विकल्प हन् । 

विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै तेस्रो भएपछि बेल्जियमका कप्तान हाजार्डलाई अबको यात्रा कता भनेर सोधिएको थियो ।

६ सिजन चेल्सीमा बिताएका हाजार्डले भनेका थिए, ‘सबैलाई थाहा छ म कहाँ खेल्न चाहन्छु ।’

चेल्सी छोडेमा उनले रियल मड्रिडमा खेल्ने इच्छा व्यक्त  गरेका छन् । तर विश्वकपमा उनले गरेको उत्कृष्ट प्रदर्शनका कारण चेल्सीले उनलाई कम मूल्यमा रियल जान दिनेछैन ।

ह्यारी केन– फरवार्ड (टोटनह्याम) 

गएको हप्ता सम्पन्न विश्वकपमा ६ गोल गर्दै इंग्लिस स्ट्राइकर ह्यारी केनले विश्वकपको गोल्डेन बुट जित्न सफल भएका थिए । केन रियल मड्रिड जान इच्छुक समेत देखिएका छन् ।

रोनाल्डो युभेन्टसमा आवद्ध भएपछि सेन्ट्रल फरवार्डको स्थानमा करिम बेन्जेमा मात्र सिनियर खेलाडी छन् । 

रियलका लागि गोल गर्ने र जर्सी नम्बर नौ लगाउने खेलाडी पेरेजले बेन्जेमाको अनुपस्थितिमा त्यस्तै भूमिका निर्वाह गर्न सक्ने खेलाडी खोजिरहेका छन् ।

तर केनले हालै टोटनह्यामसँग लामो सम्झौता गरेका छन् । र अन्तरवार्ताका क्रममा उनले टोटनह्यामको नयाँ रंगशालामा ट्रफी भित्राउने इच्छा व्यक्त गरेका छन् ।

रोबर्ट लेवाण्डोस्की– स्ट्राइकर (बायर्न म्युनिख) 

रियल मड्रिडले लामो समयदेखि रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेको छ । पोल्याण्डका स्ट्राइकर यो सिजन रियलका लागि उपलब्ध हुन सक्नेछन् ।

तरपनि लेवाण्डोस्कीलाई बेच्न नचाहिरहेको बायर्न म्युनिखबाट स्ट्राइकर भित्र्याउन रियललाई पक्कै सहज हुनेछैन ।

लेवाण्डोस्कीका एजेन्टले राखेको अनौपचारिक प्रस्तावमा क्लबले ‘रोबर्टले नयाँ चुनौतिको आवश्यकता महसुस गरेका छन्’ भनेको थियो ।

३० वर्षे लेवाण्डोस्की रियलको पहिलो रोजाई नभए पनि सेन्ट्रल मिडफिल्डरको अभावका कारण उनलाई रियलले विकल्पका रुपमा राखेको छ ।

थिबाउट कोट्वा – गोलकिपर (चेल्सी) 

रियल मड्रिडले गोलकिपर थिबाउट कोट्वालाई अनुबन्ध गर्न ठूलै चासो देखाएको छ । रियल अहिलेका मुख्य गोलकिपर केलर नभासलाई प्रतिस्थापन गर्न सक्ने गोलकिपरको खोजीमा रहेको छ । 

तुलनात्मक रुपमा कोट्वा केही सहज पनि रहेका छन् ।

एट्लेटिको मड्रिडमा केही सिजन बिताएका कोट्वाका परिवार अहिले पनि मड्रिडमा नै बस्दै आएका छन् ।

२६ वर्षे कोट्वाको चेल्सीमा सन् २०१९ सम्मको सम्झौता छ । रियलले उनका लागि ३५ मिलियन पाउण्डको प्रस्ताव गर्ने बताइएको छ । 

थियागो अल्कन्तारा– मिडफिल्डर (बायर्न म्युनिख) 

रियल मड्रिडका नयाँ प्रशिक्षक जुलेन लोपेटेगी बायर्नका मिडफिल्डर अल्कन्तराका ठूला प्रशंसक हुन् । स्पेनिस खेलाडी अल्कन्तारासँग काम गरेका प्रशिक्षक लोपेटेगी बार्सिलोनाका पूर्व खेलाडीलाई भित्र्याउन इच्छुक छन् ।

आन्द्रेज इनिस्टा र पाउलिन्हो बाहिरिएपछि २७ वर्षे अल्कन्तारा रियलको भन्दा पनि बार्सिलोनाका लागि आवश्यक छन् ।

लुका मोड्रिच, टोनी क्रुज, कासिमिरो, इस्को, डानी सेबालोस, लुकास भाज्क्वेज र मार्को असेन्सियो जस्ता मिडफिल्डर भएको अवस्थामा अल्कन्तारा रियलको विशेष चासो भने होइनन् । 

तर पनि बायर्नले उनलाई रिलिज गर्न चाहेको अण्डमा रियलले अनुबन्ध गर्न चासो देखाउनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया