भारतले जित्याे वेस्ट इन्डिजविरुद्धकाे एकदिवसीय शृङ्खला

 पुस ७, २०७६ सोमबार ६:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्ट इन्डिजविरुद्धको एक दिवसीय सिरिज भारतले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतले वेष्ट इन्डिजलाई चार विकेटले हराउँदै सिरिज आफ्नाे‍ पक्षमा पारेकाे हाे । 

कटकस्थित बरबती स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । उसका लागि कायरन पोलार्डले नटआउट ७४ रन बनाए भने निकाेलस पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले ।  अन्तिम ३ ओभरमा मात्र वेस्ट इन्डिजले ५३ रन जोडेको थियो ।

उसका लागि इविन लेविसले २१ र शाइ होपले उत्कृष्ट लयलाई कायम राख्दै ४२ रनको योगदान दिए । यस्तै रोस्टन चेजले ३८ र शिम्रन हेटमायारले ३७ रन बनाए ।

भारतका लागि नवदीप सैनीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहमद शामी र रविन्द्र जडेजाले १-१ विकेट हात पारे ।

जवाफमा भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाई लक्ष्य पूरा गर्‍यो । 

भारतले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गर्न सफल भयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । जसमा रोहित शर्माले ६३ रन बनाए भने त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहलीले ८५ रन बनाए ।

त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर र ऋषभ पन्त सात-सात रनमा आउट भए । यस्तै केदार जादव नौ रनमा पेभेलियन फर्किए भने केएल राहुलले ७७ रन बनाए ।

त्यसपछि रविन्द्र जेडेजा र शार्दुल ठाकुरले अन्तिममा भारतलाई जितको बाटो देखाए । जडेजाले ३९ रन बनाए भने ठाकुरले १७ रनको योगदान गरे ।

तीन खेलको एकदिवसीय श्रृङ्खलामा पहिलो खेल वेस्ट इन्डिजले जितेको थियो भने दोस्रो खेल भारतले जितेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया