ढाटीमायाले ७२ वर्षकाे उमेरमा पाइन् नेपाली नागरिकता

 साउन ४, २०७५ शुक्रबार १९:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – नेपाली नागरिकताको अभावमा सामाजिक सुरक्षाभत्ता पाउन वञ्चित हुँदै आएकी धनकुटा नगरपालिका–३ की ढाटीमाया राईले आज नेपाली नागरिकताको प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।

धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय धनकुटाले उनलाई नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेको हो । 

ढाटीमायाले नेपाली नागरिकताको प्रमाण–पत्र प्राप्त गरेसँगै राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ ।

७२ वर्षीया ढाटीमायाले तीन वर्ष अगाडिदेखि नै सामाजिक सुरक्षाभत्ता राज्यबाट पाउनु पर्ने थियो ।

तर आफन्त कोही नभएको र नागरिकता बनाउनु पर्छ भन्ने ज्ञान उनीमा नभएका कारण राज्यबाट पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुदै आएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले बताए । 

उनले भने,‘ढाटीमायाले राज्यबाट पाउनु पर्ने सेवासुविधा त पाउने नै भईन् । आजबाट उनी अब नेपाली नागरिक पनि बन्न सफल भएकी छिन् ।’

ढाटीमाया पुरानो संरचना अनुसार धनकुटा नगरपालिकाको वडा नं. ४ निवासी भएको खुले पनि तीन पुस्ते खुल्न नसकेपछि वडा कार्यालयको पहलमा स्थानीय इन्द्रबहादुर राईको संरक्षकत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपाली नागरिकताको प्रमाण–पत्र दिएको हो ।

अविवाहित ७२ वर्षीया ढाटीमाया हाल इन्द्रबहादुर राईसँग बस्दै आएकी छिन् ।

वडा कार्यालयको पहलमा जिल्ला प्रशासन कार्यालय धनकुटामा आएकी ढाटीमायालाई जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत सुधिर साफीदारा हस्ताक्षर गरिएको नागरिकता हस्तान्तरण गरिएको थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया