७० हजार घुससहित तिलाठी–कोइलाडी गाउँपालिकाका कर्मचारी पक्राउ

 साउन ४, २०७५ शुक्रबार २०:५०:२० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् ।

गाउँपालिकाको राजविराज –५, मा रहेको सम्पर्क कार्यालयवाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिनुभयो । गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समितिमार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने बेला मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसनबापत त्यो रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताउनुभयो ।

पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला ऋण दिएको रकम फिर्ता लिएको बताएका छन् । सकरपुराका केशरी सिंहलाई आफूले ऋण दिएको र त्यही रकम फिर्ता लिएको उनले दावी गरेका छन् । अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार पारी अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया