पाकिस्तानी क्रिकेटर फखर जमानले दोहोरो शतक हान्दै रचे इतिहास

 साउन ५, २०७५ शनिबार ६:१५:१३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्ध दोहोरो शतक हानेर इतिहास रचेका छन् ।

बायाँ हाते ब्याट्सम्यान जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलमा नटआउट २१० रनको ऐतिहासिक पारी खेल्दै सइद अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । सइद अनवरले सन् १९९७ मा चेन्नईमा भएको भारतविरुद्धको खेलमा १९४ रन बनाएका थिए । जमानले जिम्बाब्वेविरुद्धको खेलमा १५६ बलमा २४ चौका र ५ छक्काको सहयोगले दोहोरो शतक प्रहार गरेका हुन् । 

पाकिस्तानले जमानको २१० रन र इमाम उल हकको ११३ रनको सहायताले ३९९ रन बनाएको थियो । ४ सय रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे भने  ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सफल भयो ।  

फखर जमान पाकिस्तानको तर्फबाट दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । साथै विश्व क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीको सूचीमा उनी छैटौैँ नम्बरमा पर्दछन् ।

यसअघि भारतका रोहित शर्मा(३ पटक), सचिन तेन्दुलक, वीरेन्द्र सहवाग, न्यूजिल्याण्डका मार्टिन गुप्टिल तथा वेष्टइन्डिजका क्रिस गेलले एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गरिसकेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया