एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा !

 साउन ५, २०७५ शनिबार ७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जाँडरक्सी खाएर सवारीसाधन चलाउनु गलत काम हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा चालकले जाँडरक्सी खाएर सवारीसाधन चलाउनेहरु बढिरहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांक हेर्दा यसरी सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७४-७५ मा जाँडरक्सी खाएर सवारी साधन चलाएपछि ३२ हजार २ सय ९२ जना कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७३÷०७४मा २८ हजार ८ सय ९६ जना यस्तो कारबाहीमा परेका थिए । 

महाशाखाका अनुसार आर्थिक वर्ष २०७४-७५ मा कारबाहीमा परेका ३२ हजार २ सय ९२ जना मध्ये २८ हजार १ सय ११ जनालाई सडक सचेतना सुरक्षासम्बन्धी कक्षामा सहभागी गराइएको छ । यसैगरी लेन अनुशासनको कारबाहीमा परेका ४९ हजार ७ जनामध्ये  ४८ हजार ९ सय ९७ जना सडक सचेतना कक्षामा सहभागी भएका छन् ।

जरिवाना पनि बढ्यो

ट्राफिक प्रहरीले मापसे गरी सवारी हाँक्ने चालकलाई लिँदै आएको जरिवाना पनि दोब्बर पारेको छ । पहिले ५ सय मात्र रहेको मापसेबापत जरिवाना अहिले एक हजार पुगेको छ । सँगै एक घण्टा सचेतना कक्षा भने यथावत नै राखेको छ । अझ मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ५ पटकसम्म पक्राउ परेकाको तथ्यांक पनि ट्राफिक प्रहरीसँग छ । त्यस्ता चालकलाई ६ महिनासम्म अनुशासन कारबाही गरी नयाँ लाइसेन्सको लागि स्वीकृति दिन्छ ।

जाँडरक्सी खाएर गाडी चलाउनेमा निजी गाडी र मोटरसाइल चालक मात्र नभएर एम्बुलेन्स, स्कुल बस र सरकारी सवारीसाधन समेट रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

आर्थिक वर्ष २०७४-७५ मा तीन एम्बुलेन्स, एक सार्वजनिक बस र एक निजी भ्यान चालकलाई सार्वजनिक मुद्धा समेत चलाइएको छ ।  गएको आर्थिक वर्षमा भएका सवारी दुर्घटनामध्ये मापसेका कारण २ सय वटा ११ दुर्घटना भएको र यसमा ११ जनाको ज्यान जानुका सार्थ १५ गम्भीर र १ सय ७३ जना सामान्य घाइते भएका छन् ।

हेल्चेक्र्याई बढी 

चालकमा चेतना नभएको भन्दा पनि हेपाहा प्रवृत्तिका कारण मापसे गरेर सवारीसाधन चलाउने गरेको ट्राफिक प्रहरीले बताएको छ । कारबाहीमा पर्नेहरुमा महिला भन्दा परुषहरुको संख्या बढी छ ।

महिला भन्दा पुरुष चालकले गर्छन् सवारी चलाउँदा लापरबाही

टफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५८ महिला चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भेटिएपछि उनीहरुलाई कारबाही गरिएको छ । तर पुरुषको संख्या भने ३३ हजार २ सय ३४ छ । सरकारी सवारी चालक र एम्बुलेन्स चालक नै बेला–बेला मापसे कारबाहीमा पर्नु लापरबाहीको पराकाष्ठा पनि हो । 

दुर्घटना न्यूनिकरणलाई मध्यनजर गर्दै ट्राफिक नियमबारे सडक प्रयोगकर्तामा ज्ञानको अभाव तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारबाहीमा परेका सवारी चालकहरुका अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरिँदै आएको छ ।
कार्यालयले सवारी दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्दै आएको छ भने मापसेलगायत अन्य जाँचलाई समेत कडाई गरेको छ । तर संख्या भने घटेको छैन । 

योसँगै महाशाखाले दुर्घटना न्यूनिकरणका निम्ती भन्दै विभिन्न सचेतनाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । यसका कारण आपराधिक क्रियाकलाप, ट्राफिक नियम उल्लंघनमा कमी आएको र पारिवारिक सद्भाव समेत बढेको महानगरीय ट्राफिक महाशाखका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो । 

मापसे गरी सवारी चलाउनेलाई लाइसेन्स जफत गरी सुध्रिने मौका स्वरुप सचेतना कक्षा सञ्चालन गरिएको र यसले मापसे सेवन गरी सवारी चलाउने तथा नियम मिच्नेको संख्यामा कमी आएको मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता चालकलाई महाशाखामा बोलाएर विशेष तालिम दिएपछि मात्र सवारी चालक अनुमतिपत्र फिर्ता दिने गरेका छौँ ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया