नेपाली क्रिकेट टोलीले आज प्रतिष्ठित क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेल्ने

 साउन ५, २०७५ शनिबार ७:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।

ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । सन् १८८७ मा स्थापना भएको यो क्रिकेट क्लबका ४ सयभन्दा बढी सदस्य रहेका छन् । यसले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरुसँग खेलिरहेको हुन्छ । खासगरी मेरिलिबोन क्रिकेट क्लब (एमसिसी), आई जिंगारी, फ्री फरेस्टर तथा अन्तर्राष्ट्रिय भ्रमणमा रहेका विभिन्न टोलीसँग ह्याम्पशायर हग्सले मैत्रीपूर्ण खेल खेल्दै आएको छ । 

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी  खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा  जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ । 
नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लड्र्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया