मगर भाषाको ‘डिक्सनरी एप’ सार्वजनिक

 पुस १६, २०७६ बुधबार ११:३४:२१ | देव पचभैया
unn.prixa.net

पाल्पा – मगर समुदायको तीन वटै भाषा समेटेर 'मगर डिक्सनरी एप' सार्वजनिक गरिएको छ । 

मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर ‘मगर डिक्सनरी एप’  सार्वजनिक गरिएको हो । काठमाण्डौको कलंकीमा रहेको मगर सङ्घको केन्द्रीय कार्यालयमा एप सार्वजनिक गरिएको हो । 

एपलाई नेपाल मगर सङ्घ केन्द्रीय समिति, नेपाल मगर लेखक सङ्घ, मगर ढुट, मगर विद्यार्थी सङ्घ, मगर खामरपाङ र काईके भाषाका शब्दकोष लेखकहरुसँगै प्राविधिक सहयोगी संस्था यूएस नेपाल सोलुसन प्रालीको सहयोगमा निर्माण गरिएको हो । 

मगर विद्यार्थी सङ्घका निवर्तमान काईके भाषिक उपाध्यक्ष निरजकुमार पुनको पहलमा आईटी इन्जिनियर अर्पन बम ठकुरी र बालकृष्ण पुन मगरले यसलाई तयार पारेको नेपाल मगर संघले जनाएको छ । एप सार्वजनिक कार्यक्रममा इन्जिनियर बम ठकुरी र बालकृष्ण पुनले घरमै बसेर मगर भाषा सिक्न सजिलो हुने बताउनुभयो । 

‘मगर डिक्स्नरी एप’ गूगलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । लोप हुँदै गएका मगर भाषाहरूलाई आधुनिक सूचना प्रविधिको माध्यमबाट आमसमुदायमा पुर्याउने प्रयास गरेको मगर सङ्घका अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया