ऋण नलिइ धनी बन्न सकिँदैन

 पुस १६, २०७६ बुधबार १४:८:८ | भुवन दाहाल
unn.prixa.net

बैंक एउटा वित्तीय संस्था हो । वित्तीय संस्थाले आम्दानीभन्दा खर्च धेरै गर्नेहरुलाई बचत गर्न आह्वान गर्छ । आम्दानीको मात्रा बढी भएकाहरुलाई ऋणी बन्न आह्वान गर्छ । वास्तवमा वित्तीय संस्थाले समाजमा रहेका बचतकर्ता र लगानीकर्तालाई जोड्ने काम गर्छ । 

समाजमा आम्दानीभन्दा खर्च बढी गर्ने धेरै हुनुहुन्छ । कतिपयले आफूलाई आवश्यकता भएको समयमा निकाल्न सक्ने गरी पैसाको बचत गर्नुहुन्छ । साथै पैसाको सुरक्षा र प्रतिफल पनि चाहनुहुन्छ । उहाँहरुको अपेक्षा बैंकले मात्रै पूरा गर्छ । 

बैंकले वित्तीय मध्यस्तकर्ताको भूमिका निर्वाह गर्छ । वित्तीय संस्थाले राम्रोसँग मध्यस्तकर्ताको भूमिका निभाए समाजमा पुँजी सिर्जना सहज बनिदिन्छ ।

आजभन्दा २० वर्ष पहिला र अहिले नेपालीको जीवनशैली नियालौँ । आकाश जमिनको अन्तर छ । यसमा बैंक तथा वित्तीय संस्थाको ठूलो भूमिका रहेको छ । 
जीवनस्तरको आधारमा बैंकले नेपालीलाई धनी बनायो वा गरिब आफैँ तुलना गर्नुहोस् । तर बैंक तथा वित्तीय संंस्थाले अझ धेरै गर्न बाँकी छ ।

नेपाल एउटा गरिब देश हो । हाम्रो प्रतिव्यक्ति आय एक हजारमात्रै छ । नेपालमा मात्रै हाेइन, बैंक तथा वित्तीय संस्थाको स्थापनापछि छिमेकी देशका नागरिकको पनि जीवनस्तर उकासिएको छ । यसमा बैंक तथा वित्तीय संस्थाको ठूलो हात छ । बैंक, अर्थतन्त्र  र जीवनका सबै पक्षहरुबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले उद्यमीहरुलाई ऋण प्रवाह गर्छ । उद्यम सञ्चालनमा आएसँगै रोजगारीको सिर्जना हुन्छ । हरेक व्यक्तिले कर तिर्नुहुन्छ । यसको प्रभाव नेपालको कुनाकुनामा पुग्न सक्छ । कतिपय अवस्थामा कर्जा लिएका उद्यमी डुब्नु हुन्छ । बैंकको उद्देश्य उद्यमी डुबाउनु हैन, मात्रै बैंकको ऋण र साँवा आम्दानीबाट तिर्नुहोस् भन्ने अपेक्षा हो ।

कर्जा प्रवाह गर्ने क्रममा बैंकको छुट्टै मानक हुन्छ । कुनै पनि ऋणीको बलियो प्रस्तावबिना उद्यमको योजना लिएर आए धितोमात्रैको आधारमा मात्रै कर्जा प्रवाह गर्नु हुँदैन । यो बैंकको दायित्व पनि हो । उहाँहरुको सम्पत्ति लिलाम गरेर बैंकको ऋण तिर्ने हैन । उहाँहरुको आम्दानीबाट तिर्ने हो । 

ऋणमा डुब्नबाट बच्नको लागि उद्यम गर्नु पहिले प्रपोजल बनाउनु पर्‍याे । बजारको माग, प्रतिस्पर्धी, सामान बेचिसकेपछि कति दिनसम्म उधारो रहन सक्छ बुझ्नु पर्‍यो । प्रतिस्पर्धा देशभित्र मात्रै हो कि बाहिर पनि छ भनेर थाहा पाउनु पर्‍याे । सरकारको नीति नियम कस्तो छ, यी सबै पक्षको जानकारीपछि मात्रै उद्यमको योजना बनाउनु पर्छ । 

व्यापार र उद्यमको जानकारी भएका विज्ञसँगको छलफलमा ढाँचा तयार पार्नुपर्छ । अनुभवी व्यक्तिको साथमा मात्रै उद्यम सुरु गर्नुपर्छ । कुनै व्यवसाय अध्ययनबिना सुरु गर्नु हुँदैन । हतारमा निर्णय गरी फुर्सदमा पछुताउने काम गर्नुहुन्न । बरु केही समय ढिला होस् । सर्वपक्षको अध्ययन गरेपछि मात्रै व्यवसाय सुरु गर्नुपर्छ । 

एउटा व्यवसाय गर्दै गरेको व्यक्तिलाई अर्काे व्यवसाय थाल्न बैंकले चाँडो ऋण उपलब्ध गराउँछ । उहाँको अनुभवको आधारमा ऋण दिने गर्छ । विशेषतः लामो समय जागिर खाएर व्यवसाय गर्नेहरु सफल भएको देखिन्छ । व्यापारको पाटा सबै अध्ययन गरेर मात्रै व्यवसाय सुरु गर्नुपर्छ । 

अहिले बैंकमा झन्डै तीन करोड नेपालीको खाता छ । यसमध्ये जम्मा १४ लाख खातावालाले मात्र ऋण लिनुभएको छ । सबै मानिस उद्यमी बन्न सक्दैनन्  । अर्काको कमाएको देखेर उद्यम सुरु गर्न थाल्यौं भने हामी बिग्रन सक्छौं । 

आम्दानीभन्दा खर्च धेरै भयो भने वित्तीय संकट निम्तन सक्छ । ऋण नलेऊ भनेको हैन । तर ऋण लिएर घिउ खान हुन्न । ऋण लिएर उपयुक्त ठाउँमा लगाउनुपर्छ । ऋणको सदुपयोग गर्नुहोस् ।  वास्तवमा ऋण नलिने मान्छे धनी बन्नै सक्दैन । 

व्यापारी र उद्यमीहरु सबै ऋण लिनुहुन्छ । ऋण लिने व्यवसायीहरु आफ्नो व्यवसायमा अब्बल हुनुहुन्छ । धनी हुनुहुन्छ । थोरै ऋण लिनेहरु सानो व्यापारी बन्नुभएको छ । धेरै ऋण लिनेहरु ठूलो व्यापारी बन्नुभएको छ । ऋण लिन्न तर ठूलो व्यापारी बन्छु भन्नुहुन्छ भने त्यो विरोधाभास बन्न पुग्छ । 

बैंकले दुई खाले ऋण उपलब्ध गराउँछ । व्यक्तिगत र व्यावसायिक कर्जा । गाडी कर्जा, घर कर्जा, शैक्षिक कर्जा जस्ता व्यक्तिगत कर्जाको लागि ऋणीको आम्दानीबाट खर्च कटाएर किस्ता तिर्न सक्ने/नसक्ने हेर्छाैँ । व्यावसायिक कर्जामा व्यवसायको आम्दानीबाट ऋण तिर्न सक्नुहुन्छ या हुन्न भनेर बैंकले अध्ययन गर्छ । बैंकले कसैलाई डुबाउँदैन । 

राष्ट्र बैंकले पछिला समय दिएको निर्देशनअनुसार मानौं तपाईँको मासिक आम्दानी एक लाख रहेको छ । तपाईँले कर तिर्नुपर्ला ? ५० हजार बराबर आम्दानी भएकोले मात्रै कर्जा लिन पाउने व्यवस्था रहेको छ । 

तर कतिपय मानिसको बढी ऋण लिन सक्ने क्षमता हुने गर्छ । आम्दानी १० लाख रहेको छ । उहाँसँग ३० प्रतिशत कर तिरेर ७ लाख रहेको छ भने ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने भयो । किन ५० प्रतिशत नै कर्जा भन्ने कुरा छलफल र विवादको विषय बनेको छ । यो विषयमा राष्ट्र बैंकसँग छलफल गर्नेछौँ । 

यो नीति कार्यान्वयनमा आए ५० प्रतिशतभन्दा बढी ऋण लिने ऋणीको सङ्ख्या केही हदसम्म घट्न सक्छ । व्यक्तिगत कृषिको कारोबारमा कर तिर्नु पर्दैन । कृषि आम्दानीको निश्चितता कसरी व्यवस्थापन गर्नेे विषयमा राष्ट्र बैंकसँग सल्लाह गर्नुपर्नेछ । 

सानिमा बैंक लगायतका विभिन्न वित्तीय संस्थाले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराइरहेका छन् । कर्जा लिन इच्छुकले आफूले चाहेको वित्तीय संस्थामा गइ कर्जाबारे सम्पूर्ण कुरा बुझ्न सक्छन् । आफ्नो आवश्यकताअनुसार विभिन्न याेजना उपलब्ध रहेका हुन्छन् । 

सानिमा बैंकबाट सबै किसिमका कृषि कर्जा प्रवाह हुँदै आएको छ । कर्जा लिँदा बाटो नपुगेका जमिनको लागि समेत कर्जा प्रवाह गर्दै आएको छ । बैंकको शाखामा सम्पर्क राख्नुहोला । कतिपय स्थानमा कृषि कर्जाबारे जानकारी गराउने गर्नुहुन्छ । 

समग्रमा सबै किसिमका कर्जा बैंकबाट उपलब्ध हुनेछ । शैक्षिक, सामाजिक कार्य, अटो, अस्पताल, होटल निर्माण हलोदेखि हाइड्रोसम्मका सम्पूर्ण पक्षमा कर्जा उपलब्ध हुनेछ । गैरकानुनी क्षेत्रबाहेक सबै खाले क्षेत्रका लागि ऋण उपलब्ध हुनेछ । कानुनीरुपमा गर्न पाउने सबैखाले व्यवसायको लागि कर्जा उपलब्ध हुनेछ । 

राज्यले कृषि क्षेत्रको कर्जामा पाँच प्रतिशत सुविधा दिएको छ । एउटै कर्जाको ब्याजदर कर्जाको जोखिम अनुकूल निर्धारण हुने गर्छ । नत्र छोटो कर्जामा थोरै र लामो कर्जामा धेरै ब्याजदर लिइन्छ । भन्नुपर्दा, ऋणीको जोखिमको आधारमा ब्याजदर निर्धारण हुन्छ । 

यदि ऋणीसँगको सम्झौताबिना ब्याजदर लिइएको छ भने ऋणीले राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा गुनासो गर्न सक्छन् । राष्ट्र बैंकले तुरुन्त फिर्ता गर्न निर्देशन दिने गर्छ  । 

सामान्यतया बैंकहरुले प्रत्येक तीन/तीन महिनामा निरीक्षण गर्ने गर्छ । एक शीर्षकमा लिएको ऋण अन्यन्त्र खर्च भएको खण्डमा ऋणीलाई बैंकले कारबाही गर्छ । तपाईँलाई कर्जा दुरुपयोग गर्नेको सूचीमा राखिन्छ । जुन शीर्षकमा कर्जा चाहिएको हो, त्यही प्रयोजनको लागि ऋण लिनुपर्छ । कृषि कर्जा लिने र घर निर्माण गर्ने हो भने त्याे ऋणीलाई कारबाही हुन्छ । 

म एक वर्ष अगाडि बंगलादेशमा आयोजित दक्षिण एसियाको बैंकर्स सम्मेलनमा पुगेको थिएँ । दक्षिण एसियामा सबैभन्दा उत्कृष्ट बैंक नेपालको भएको थाहा पाएँ । थुप्रै आधारमा बैंक सुरक्षित छ या छैन भनेर हेर्ने गरिन्छ । पुँजी कोषको व्यवस्थापनको आधारलाई मुख्य मानिन्छ । अहिले नेपालका बैंकहरुको पुँजी कोष १४ दशमलव १९ प्रतिशतको हाराहारीमा रहेको छ । यसको मतलब तपाईँको बैंकमा रहेको पैसा एकदम सुरक्षित छ । 

बेलाबेला भैरहेको ‘एटीएम फ्रड’ बाट डराउनु पर्दैन । नेपालका वाणिज्य बैंकको पुँजी कोष न्यूनतम पनि ११ अर्ब रहेको छ । बढी हुनेको ३० अर्ब जति पुँजी कोष रहेको छ । एक करोड जाँदैमा निक्षेपकर्ताको पैसा जाँदैन । यस्ता सामान्य गल्तीबाट डराउनु पर्दैन ।

कतिपय समयमा बैंकहरुले धेरै नाफा लिएको भन्ने समाचार आउँछ । तर बैंकहरुले लुटेका छैनन् । गाउँगाउँमा पुगेका छौं । ७ सय ५३ वटै पालिकामा बैंक स्थापना गने अभियानमा सरिक छौँ । 

सबै नेपालीको खाता खोलौँ भन्ने अभियानमा छौँ । सात वर्ष अगाडिसम्म १ करोड ४ लाख नेपालीको खाता रहेकोमो अहिले २ कराेड ९४ लाख पुगेको छ ।ऋणी सात लाख मात्रै रहेकोमा अहिले १४ लाख पुगेको छ । २ हजार ४ सय ६३ शाखा रहेकोमा अहिले ५ हजार ४ सय २६ शाखा सञ्चालनमा रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ गर्नेको संख्या ९१ लाख पुगेको छ । 

नेपालको बैंक वास्तवमा नै उत्कृष्ट रहेको छ । बैंकिङ प्रणाली उत्कृष्ट छ । बैंकको सकारात्मक आलोचना नगरिदिनोस्, हामी यसलाई सुधार गर्छौं । बैंक व्यवसायिक हुनुपर्छ । हामी सबै मिलेर देश बनाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट प्रयास गरौँ । 

अन्तिम अपडेट: फागुन ५, २०७६

भुवन दाहाल

दाहाल नेपाल बैंकर्स सङ्घका नवनिर्वाचित अध्यक्ष एवं सानिमा बैंकका कार्यकारी निर्देशक (सीईओ) हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया