यस्ता पनि वडाध्यक्ष, ज्येष्ठ नागरिकलार्इ बाँडिदिए अाफ्नाे सबै तलब

 साउन ५, २०७५ शनिबार १३:३२:२४ | रासस
unn.prixa.net

कञ्चनपुर - भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी बिष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । 

अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ठ नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । 

त्यसै अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् ।

‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने वचन दिएकै थिएँ ।’ नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो, ‘यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।’

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।

प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । ‘यहाँ आउन नसेका वृद्ध-वद्धालाई घरमै गएर पनि रकम दिन्छु,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’ 

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो । 

वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनीय हुने तर्क गर्नुभयो । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,‘ अध्यक्ष कुँवरले भन्नुभयो– ‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।‘ 

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,‘उहाँले भन्नुभयो, ‘उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।‘

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीयकदेखि गाउँमा बस्दै आउनु भएका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । 

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’उहाँले भन्नुभयो, ’तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।‘

एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो,’अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो । ‘

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर बिष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरे ।

अध्यक्षले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो । 

स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया