सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली

 साउन ५, २०७५ शनिबार १४:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अबलम्बन गर्न लागेको बताउनुभएको छ ।

त्रिभूवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ शिक्षा नीति अबलम्बन गर्न लागेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले  कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाई छ । पढेका मान्छे बेरोजगार नुहन भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रुपमा जनशिक्तको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका बनाउँछौं ।’

विश्वविद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट उत्पादन हुनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले विश्व विद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन दिनुभएको छ ।

देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्बाहमुखी मात्र भएकोले यसलाई थप व्यावसायिक बनाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया