अस्ट्रेलियामा वर्षा : आगलागी प्रभावितलाई राहत, तापक्रम केही घट्याे

 पुस २२, २०७६ मंगलबार ८:०:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाको जङ्गलमा लागेको आगोलाई लिएर पूरै विश्वमा आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ह्यासट्याग अस्ट्रेलियाका लागि प्रार्थना (#prayforaustralia) ट्रेण्ड चलिरहेको छ । 

विश्वभरिका मानिसले अस्ट्रेलियाको जङ्गलमा लागेको आगो रोकियोस् भनेर प्रार्थना गरिरहेका छन् । यसैबीच सोमबार वर्षा भएपछि मानिसहरुले केही राहत महसुस गरे । वर्षापछि तापक्रम केही घटेकाे छ । आगलागीकै कारण अस्ट्रेलियाकाे तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेकाे थियाे । 

आगलागीका कारण झण्डै ५० करोड जीवजन्तु र पशुपंक्षी जलेर नष्ट भइसकेका छन् । गएको सेप्टेम्बरबाट सुरु भएको आगलागीले अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान लिइसकेको छ भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली पनि नष्ट भइसकेको छ । 

आगलागीका कारण न्यु साउथ वेल्स राज्यका दुई जना अझै बेपत्ता छन् । आगलागी झन् भीषण बन्दै गइरहेको छ । झण्डै दुई हजार घर जलेर खरानी भइसके । 

सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वका सबै ठूला शहरमध्ये सबैभन्दा खराब देखाएको थियो । अस्ट्रेलियाको गृह मन्त्रालयले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिएको थियो । 

न्यु साउथ वेल्स ग्रामीण अग्नी सेवाका कमिस्नर शेन फिट्जसिमन्सले वर्षाका कारण अग्निशमन विभाग, आपतकालीन सेवाकर्मी र आगलागीबाट प्रभावित मानिसहरुमा राहत भएको बताए । तर यसले आगो नियन्त्रणमा लिन रणनीतिक र प्राविधिक हिसाबमा चुनौती पनि भएको छ । न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिकेलियनले यही दौरान दुई जना मानिस बेपत्ता भएको बताए । 

आगलागीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निकै आलोचना भोग्दै आइरहेका छन् । देशमा आगो लगिरहँदा उनी सपरिवार छुट्टी मनाउन विदेश गएका थिए । निकै आलोचना भएपछि उनले पछि माफी पनि मागेका थिए । यही कारण प्रधानमन्त्री मोरिसनले भारत भ्रमण पनि रद्द गर्नुपरेको थियो । 

प्रधानमन्त्री मोरिसनले आगलागीबाट प्रभावितका लागि नेशनल बुशफायर एजेन्सीमार्फत दुई अर्ब अस्ट्रेलियाली डलर बराबर खर्च गर्न बताएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया