ईरानकाे सैन्य क्षमता कति छ, अमेरिकी सेनासँग कति बेर टिक्ला ?

 पुस २४, २०७६ बिहिबार १६:२८:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ईरान र अमेरिकाको बढ्दो तनावलाई हेर्दा युद्धको हुने सङ्केत पनि देखिएको छ । 

यस्तो अवस्थामा ईरानको सैनिक क्षमता कति छ ? ईरानको सैनिक साँच्चै अमेरिकी सेनालाई टक्कर दिन सक्छ ? जस्ता प्रश्न उठिरहेको छ । 

आखिर ईरानको सैनिक क्षमता कति छ ? के ईरान अमेरिकासँग युद्ध गर्ने स्थितिमा छ ? । ईरानसँग मिसाइल छ कि छैन ? यदि छ भने त्यसले अमेरिकी सेनालाई पुग्छ ? यसको अलावा ईरानी सेनाको अरु के खुबी छ त ? साथै ईरानमा इस्लामिक रिभोल्युशनरी गार्डस् कसरी बन्यो एक शक्तिशाली सङ्गठन, यसबारेमा जानौँ । 

के ईरान मिसाइल सम्पन्न देश हो ?

मध्य एसियामा ईरान एक मिसाइल सम्पन्न देश हो । अमेरिकी रक्षा विभागका अनुसार ईरानको मिसाइल शक्ति मध्य पूर्वको देशमध्ये सबैभन्दा धेरै छ । ईरानसँग छोटो र मध्यम दुरीको मिसाइल छ । यद्यपि ती मिसाइल प्रहार गर्न सक्ने क्षमता अमेरिका जत्तिको छैन ।

ईरानको हवाई सेनाको कुरा गर्ने हो भने, ईरान कहीँ न कहीँ साउदी अरब र इजरायलको तुलनामा कमजोर छ । यही कमजोरीको भरपाई ईरानको मिसाइलले गर्छ । अमेरिकी रक्षा विभागका अनुसार ईरान स्पेस टेक्नोलोजीको परीक्षण गरिरहेको छ, जुन ईरानको सैन्य शक्तिमा थपिनेछ ।

सन् २०१५ को परमाणु सन्धिअनुसार ईरानले लामो दुरीको मिसाइल परीक्षण कार्यक्रम बन्द गरेको थियो । तर यसबाट के प्रस्ट हुन्छ भने उसँग छोटो र मध्यम दुरीको मिसाइल छ, जसले साउदी अरब र खाडीको कैयौँ देशलाई निसाना बनाउन सक्छ । इजरायलको प्रमुख क्षेत्र पनि ईरानको पहुँचमा छ ।

गएको वर्ष अमेरिकाले ईरानसँगको बढ्दो तनावलाई मध्यनजर गर्दै मध्यपूर्वमा एउटा एन्टी मिसाइल रक्षा व्यवस्था खडा गरेको थियो । त्यसको उद्देश्य ब्यालेस्टिक मिसाइल, क्रुज मिलाइल एवं उच्च प्रविधियुक्त एअरक्राफ्ट्सको सामना गर्नु थियो । 

ईरान ड्रोन विकसित गर्न सफल भइसकेको छ 

प्रतिबन्ध लगाउँदा पनि ईरान ड्रोन विकसित गर्न सफल भइसकेको छ । ईरानले कैयौँ पटक ड्रोनको प्रयोग गरिसकेको छ । सन् २०१६ मा इराकमा इस्लामिक स्टेटविरुद्धको युद्धमा ड्रोनको प्रयोग भएको थियो । सन् २०१९ मा ईरानले एक अमेरिकी ड्रोनलाई ड्रोनले नै प्रहार गरेर खसालेको थियो । त्यो बेला अमेरिकी ड्रोनले हर्जुज खाडीमा ईरान वायु क्षेत्रको उल्लङ्घन गरेको दावी गरेको थियाे । यो वर्ष ईरानले साउदी को तेल कम्पनीमा पनि ड्रोनले नै आक्रमण गरेको थियो । 

ईरानको साइबर क्षमताबाट अमेरिका चकित 

सन् २०१० ईरानको परमाणु संयन्त्रमा साइबर आक्रमणपछि अमेरिका चकित परेको थियो । त्यसपछि ईरानले साइबर क्षमतामा अझ सुधार गर्‍याे । रिभोल्युशनरी गार्ड्ससँग साइबर कमाण्ड छ भन्ने मानिएको छ । यसले सैन्य जासुसीका विषयमा काम गर्छ । अमेरिकी सेनाको एक प्रतिवेदनका अनुसार ईरानले साइबर जासुसीको लागि एअरस्पेस, प्राकृतिक संसाधन, टेलिकम्युनिकेशन कम्पनी र सुरक्षालाई लक्षित गरेको छ ।

ईरानी सरकारसँग सम्बन्ध राख्ने ह्याकर समूहले अमेरिकी राष्ट्रपतीय चुनावको क्रममा अमेरिकी अधिकारीहरुको अकाउन्ट नै ह्याक गर्ने कोसिस गरेको थियो । 

ईरानी सेनाको लेखाजोखा

ईरानी सेनामा साढे तीन लाख र इस्लामिक रिभोल्युशनरी गार्ड्सका डेढ लाख सैन्यकर्मी सामेल छन् । ईरानको सेनामा रिभोल्युशनरी गार्ड्सका २० हजार जल सेना पनि सामेल छन् । 

ईरानी सेनासँग मिसाइल पनि छ । अमेरिकी रक्षा विभागले मध्यपूर्व एसियामा ईरानको मिसाइल अन्य देशको तुलनामा धेरै छ । 

अमेरिकी प्रतिबन्धको बाबजुद ईरानले आफ्नो सेनाको लागि ड्रोन विकसित गर्न सफल भएको छ । सन् २०१९ मा ईरानले एक अमेरिकी ड्रोन खसालेको थियो । 

के हो रिभोल्युशनरी गार्ड्स ?

रिभोल्युशनरी गार्ड्सको स्थापना ४० वर्षअघि भएको थियो । यसको उद्देश्य ईरानमा इस्लामिक व्यवस्था सुरक्षित गर्नु थियो । ईरानमा रिभोल्युशनरी गार्ड्सले ईरानमा आफ्ना विशेष स्थिति बनाइ राखेको छ ।

ईरानको आधिकारिक सेनाभन्दा कम सैनिक भएको समूह भएर पनि रिभोल्युशनरी गार्ड्सलाई ईरानको सबैभन्दा शक्तिशाली सैन्य सङ्गठन मानिन्छ । यो ईरानको एक प्रमुख सैन्य, राजनीतिक र आर्थिक शक्ति बनिसकेको छ । यो समूह ईरानमा आन्तरिक आवाज दबाउने काम गरेको छ । आवश्यक पर्दा रिभोल्युशनरी गार्ड्स एक्लैले लाखौँ सैनिकलाई एकत्र गर्न सक्छ । 

ईरानको कुद्स सेना

ईरानको कुद्स सेना रिभोल्युशनरी गार्ड्सका लागि विदेशमा जासुसी अपरेशन गर्छ । ईरानका सर्वाेच्च धार्मिक नेता खामेनईलाई कुद्स सेनाले सिधै सम्पर्क गर्छ । यसका कम्तीमा पाँच हजार सैनिक छन् ।

अमेरिकाका अनुसार कुद्स सेना मध्यपूर्वमा आतङ्की सङ्गठनलाई आर्थिक सहयोग, ट्रेनिङ र हतियार प्रदान गर्दै आइरहेको छ । ती सङ्गठनमा लेबनानको हिज्बुल्लाह र फलस्तीनको इस्लामी जिहाद पनि सामेल छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया