कप्तान पारसको शानदार प्रदर्शनमा नेपाल २ सय ४३ रनले विजयी

 साउन ६, २०७५ आइतबार ६:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको नेपालले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सकिएको खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।

नेपालका ललितसिंह राजवंशीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट लिए । यस्तै ८ ओभरमा सन्दिपले १८ रन खर्चिए भने दिपेन्द्रले ५ ओभर १ बलमा २० रन दिंदै २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको १ सय ६१ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । १ सय ६ बलमा १ सय ६१ रन बनाउने क्रममा पारसले ७ छक्का र १९ चौका प्रहार गरेका थिए । यस्तै, रोहितकुमार पौडेलले ४४, दिपेन्द्र सिंह ऐरीले ३७ र आरिफ शेखले २७ रन बनाएपछि नेपालले  ठूलो योगफल तयार पारेको थियोे । यस्तै, करण केसीले १८, सन्दिप लामिछाने र ललित भण्डारीले १६–१६ तथा शरद भेषावकरले १४ रन बनाए ।

नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डस्मा हुने त्रिकोणात्मक शृंखला जुलाई २९ तारिखमा हुनेछ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

3 Comments

  • som bk kami

    July 22, 2018, 11:02 a.m.

    Very good, best of luck Nepali team ! Salute to you.

  •  0 Reply
  • Bal bahadur saud

    July 22, 2018, 9:19 a.m.

    Congrats Nepali cricket

  •  0 Reply
  • Bal bahadur saud

    July 22, 2018, 9:18 a.m.

    Congrats Nepali cricket

  •  0 Reply

तपाईको प्रतिक्रिया