प्रदेश–३ काे नाम र स्थायी राजधानीका लागि  आइतबार बिहान नाै बजे मतदान हुने

 पुस २६, २०७६ शनिबार १५:५७:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर–३ काे नाम र स्थायी राजधानीका लागि  आइतबार बिहान नाै बजे मतदान हुने भएको छ ।

प्रदेश नम्बर–३ काे नाम र राजधानीका लागि शनिबार संसदमा भएकाे छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएकाे हाे । सभामुख सानुकुमार श्रेष्ठले शनिबारकाे बैठक स्थगित भएकाे जनाउँदै आइतबार बिहान नाै बजेका लागि आह्वान गर्नुभएको हाे ।

नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशकाे स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर-३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् । 

शनिबारको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गर्नुभएको थियो । 

पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाउनुभयो । राजधानीका विषयमा सांसदहरुले भाग लिएर आफ्ना कुरा राख्नुभएकाे थियाे । 

सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गर्नुभयो । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाउनुभयो । 

यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । नामका विषयमा सांसद प्रेम तामाङले असहमति जनाए पनि उहाँले विमतिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाए पछि दर्ता गराउन सक्नुभएन ।

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया