जन्ती र भोजमा कानुन उल्लंघन

 साउन ६, २०७५ आइतबार ९:५२:१८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन  – चितवनमा ठूला होटल र पार्टी प्यालेसमा हुने विवाह र भोजमा पाँच सय जनाभन्दा कमको अर्डर हुनै छाडेको छ । विवाह, पास्नी, ब्रतवन्ध गर्दा ठूला होटल र पार्टी प्यालेसहरुमा दिन र रातमा तडकभडकका साथ भोज हुने क्रम बढेको हो । जुन प्रचलित कानुन विपरित छन् । 

चितवनमा रहेको होटल ग्लोबलमा एउटै विवाह भोजमा २ हजार ५ सयभन्दा बढीको सहभागिता रहेको होटलका प्रवन्धक दण्डपाणी पोखरेलले बताउनुभयो । होटलमा २ हजार भन्दा बढी सहभागी हुने विवाह वर्षमा ४ वटासम्म हुने गरेको उहाँ बताउनुहुन्छ । ५ सय भन्दा बढी सहभागी भएको भोज महिनामा २० वटासम्म हुने गरेको उहाँले बताउनुभयो ।  

एक महिनामा १६ वटासम्म भोजको व्यवस्थापन गरेको अर्को होटल भरतपुर गार्डेन रिसोर्टमा पनि १ हजार जनाभन्दा धेरैको सहभागितामा भएको भोजको संख्या धेरै रहेको छ । पछिल्लो समय विवाह। पास्नी र ब्रतवन्धको भोज होटलमा गर्ने क्रम बढ्दै गएको होटलका प्रवन्धक सुधीर उप्रेतीले बताउनुभयो ।  

विभिन्न संस्कारमा गरिने कर्मको क्रममा आयोजना हुने भोजमा बढ्दै गएको प्रतिष्प्रधाका कारण समाजमा विकृति देखिंदै गएको छ । मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारलाई व्यवस्थित बनाउन ऐन भए पनि त्यसको कार्यान्वयन नहुँदा विकृति देखिंदै गएको हो । 

सामाजिक व्यवहार (सुधार) ऐन छ । तर कानुन व्यवसायीहरु यो ऐनलाई नमानिएको कानुन भन्छन् । छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतवन्ध, बूढो–पास्नी कर्म गर्दा कति जनाको सहभागिता गराउने भन्ने कानुनमै उल्लेख छ । सामाजिक व्यवहार (सुधार) ऐन विपरित समाजका अगुवा, दलका नेता, प्रतिष्ठित व्यक्तिहरुले विवाह, भोज लगायतका सामाजिक समारोहमा कर्म गरिरहेका देखिन्छन् ।

भोज गर्दा होटल तथा पार्टी प्यालेसमा चर्काे आवाजमा होहल्ला, बाजागाजा र संगीत बज्दा आसपासका बासिन्दा पीडित  हुने गरेका छन् । विवाहमा आवश्यकता भन्दा बढी वाजागाजा र भी गर्दा सडक यातायातमा समेत प्रभाव पर्ने गरेको छ । हुने खानेले फेसनको रुपमा यो विकृति भित्राइदिएका कारण हुँदा खाने र आर्थिक अवस्था कमजोर भएकाहरुले बाध्यात्मक परिस्थितिमा सकिनसकी यो विकृति पछ्याउन बाध्य भएका छन् ।
के छ ऐनमा ?

सामाजिक व्यवहार (सुधार) ऐन २०३३ चौथो पटक संशोधन भएर २०७२ फागुन १३ मा जारी भएको छ । ऐनमा उल्लेख भएअनुसार ५१ जना भन्दा बढी सहभागी गराएर भोज, पार्टी गर्न पाइँदैन । 

ऐनको दफा ७ मा जन्ती सम्बन्धी व्यवस्थामा बाजावाला लगायत ५१ जनाभन्दा बढी बरियात लान नपाईने उल्लेख छ । बढी लगे १० हजारसम्म जरिवाना, १५ दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

दफा ८ मा विवाह भोजमा नियन्त्रण सम्बन्धमा दुलाहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदारबाहेक अरु छरछिमेकी, ईष्टमित्रहरु सहितबाट ५१ भन्दा बढीलाई आमन्त्रण गर्न नहुने उल्लेख छ । यो दफा उल्लंघन भएमा २० हजार जरिवाना, १५ दिन कैद वा दुवै सजायँ हुने व्यवस्था छ ।

दफा ८ मा छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बूढो–पास्नी कर्म गर्दा नजिकको नातेदार वाहेक अरु छरछिमेक र इष्टमित्रवाट २५ जना भन्दा बढीलाई भोजमा आमन्त्रण गर्न नहुने ऐनमा उल्लेख छ । यो दफा उल्लंघन गरेमा १० हजार रुपैंया सम्म जरिवाना, ७ दिन सम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

कार्यान्वयन छैन : कानुन व्यवसायी

सामाजिक व्यवहारमा भैरहेको बढ्दो प्रतिस्पर्धात्मक फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्ने उद्देश्यले ऐन जारी भएको हो । चितवन जिल्ला अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारीले नेपालमा बनेका कानुनमध्ये कार्यान्वयन नै हुन नसकेको कानुन सामाजिक व्यवहार (सुधार) ऐन सम्बन्धी कानुन रहेको बताउनुभयो ।

२०३३ सालमा बनेको ऐन २०७२ मा संसोधन भयो । कानुन संसोधन भए पनि मानसिकता परिवर्तन हुन नसकेको उहाँ बताउनुहुन्छ । हुने खाने र पहुँचवालाबाटै यो कानुनको पालना नभएको भन्दै भण्डारीले ऐन कार्यान्वयन गर्न खोज्नेहरुलाई हैसियत नभएको आरोप लाग्ने गरेको बताउनुहुन्छ । ठूलाबडाहरुबाटै ऐनको कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ ।

निगरानी बढाउँछौ : प्रजिअ

कानुन विपरितको काम भइरहदा पनि स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन । ऐनमा प्रमुख जिल्ला अधिकारीलाई उजुरी परेपछि १५ दिनको समय अवधी राखेर सवै विवरण माग गर्ने अधिकार दिएको छ । पछिल्लो समय विकृति बढेको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ऐन कार्यान्वयनतर्फ लाग्ने बताउनुभयो । देखिएको र सुनिएको भएपनि आधिकारिक रुपमा उजुरी नपरेको जानकारी दिदै उहाँले अव प्रशासनले निगरानी बढाउने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तेजेन्द्र खड्काले सरकारी तवरबाट ऐनको कार्यान्वयन नगर्नेलाई कारवाही गरेर कानुन कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । यस्ता भड्कीला समारोहमा सकेसम्म सहभागी नहुने संस्कार विकास गर्न सके राम्रो हुने बताउनुभयो । विगतमा प्रहरीले ढोकामा वसेर जन्ती गन्ने गरेको विवाहमा सहभागी भएको स्मरण गर्दै बताउदै उहाँले अहिले देशका उच्च पदमा रहेका व्यक्तिबाटै कानुनको उल्लघंन हुने गरेकाले प्रशासन समेत मौन बस्न बाध्य भएको बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले  स्थानीय प्रशासनले निगरानी राख्नु पर्ने र कानुनलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । ठूलो संख्याको जन्ती लैजाने र बाटो ढाक्ने गरी होटल र पार्टी प्यालेस अगाडि भोज भइरहँदा ट्राफिक प्रहरीले आफैं ट्राफिक व्यवस्थापन गरेको समेत देखिएकोले तत्काल यस्ता कार्य बन्द हुनुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया