ताइवानमा साइ इङ्गले दोस्रो पटक चुनाव जितिन्, चीनलाई झट्का !

 पुस २७, २०७६ आइतबार ८:५६:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ताइवानकी राष्ट्रपति इङ्ग–वेनले आमचुनावमा सानदार जितका साथ दोस्रो कार्यकाल हासिल गरेकी छिन् । 

साइ इङ्गले आमचुनावमा ५७ प्रतिशतभन्दा धेरै मत प्राप्त गरिन् । उनले ८२ लाख मत प्राप्त गर्दै रेकर्ड कायम गरिन् । उनले प्रतिद्वन्द्वी कुओमिनटाङ्ग पार्टीका खान ग्वो यीलाई निकै पछाडि छोडिन् । 

साई इङ्ग–वेनको जित विश्वका लागि निकै महत्वपूर्ण छ किनकि उनी चीनसँगको नजिक सम्बन्धलाई लिएर विरोध गर्दै आइरहेकी छिन् । 

आफ्नो जितसँगै उनले फेरि एक पटक चीनलाई ताइवानमाथि हाबी हुने विचार त्याग्न भनेकी छिन् । जितपछि उनले सम्वाददातासँग भनिन्, ‘ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई कसरी उत्सवको रुपमा मनाउँछ भनेर विश्वलाई नै देखाएको छ ।’

अमेरिकाले साईको जितलाई लिएर खुशी व्यक्त गर्दै यो जित लोकतान्त्रिक व्यवस्थाको हकमा भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘साईको दोस्रो कार्याकालमा ताइवान र अमेरिकाको सम्बन्ध थप मजबुत हुन्छ । हामी लोकतन्त्र, अर्थव्यवस्था र मानिसहरुको खुशीका लागि साथमा मिलेर काम गर्नेछौँ ।’

साई इङ्ग–वेनले यही महिना चीनको एक देश, दुई व्यवस्था को प्रस्तावलाई स्वीकार नगर्ने बताएकी थिइन् । 

चीनले ताइवानसँग यही राजनीतिक सूत्र पेशस गरेको थियो, जसलाई ताइवानले खारेज गरिदियो । ताइवानले चीनको यस्तै सूत्र हङकङमा विफल भएको भन्दै आफूहरुले स्वीकार नगर्ने बताएको थियो । 

चीनको चुनावी अभियानमा चीनको डर सबैभन्दा ठूलो मुद्दा थियो । चीन शासित हङकङमा महिनौँदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनका कारण ताइवानको चुनावमा ‘चीनको डर’ लाई ठूलो मुद्दाको रुपमा हेरिएकाे थियो ।  

चुनावी अभियानमा साईले भनेकी थिइन्, ‘हङकङका नागरिकले हामीलाई ‘एक देश, दुई व्यवस्था’ निश्चितरुपमा विफल सूत्र भएको बताइ सकेका छन् ।’
हङकङ बेलायती उपनिवशे थियो, जसलाई बेलायतले सन् १९९७ मा स्वतन्त्रताको केही खास प्रावधानको बदलामा चीनको हातमा दिएको थियो । 

साईले भनिन्, ‘हङकङमा ‘एक देश, दुई व्यवस्था’ अनुसार अवस्था दिनप्रतिदिन बिग्रिरहेको छ । चीनले शक्तिको दुरुपयोग गर्दै ‘एक देश, दुई व्यवस्था’ को विश्वसनीयतालाई संदिग्ध बनाएको छ । यस्तो अवस्थामा चीनको प्रस्ताव स्वीकार्ने कुरा नै हुँदैन ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया