ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने फैसला

 पुस २८, २०७६ सोमबार ८:५४:३१ | एजेन्सी
unn.prixa.net

ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन् । 

२१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन् । 

उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । किमिया यो समय कहाँ छिन्, उनले केही पनि जानकारी दिएकी छैनन् । तर ईरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणको क्रममा न्युजिल्याण्डमा हुन सक्ने बताइएको छ ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जित्दै ईरानका लागि इतिहास रचेकी थिइन् । 

उनले सामाजिक सञ्जालको पोस्टमा ईरानका अधिकारीहरुले आफ्नो सफलतालाई प्रोपोगाण्डाको रुपमा प्रयोग गरेको आरोप लगाएकी छिन् । 

ईरानमा सरकारविरुद्ध प्रदर्शन चर्किरहँदा किमियाले देश छोड्ने फैसला गरेकी हुन् । गएको बुधबार युक्रेनी यात्री विमान भुलवश मिसाइल प्रहारबाट खसालिएको र दुई दिनसम्म झुट बोलेको भन्दै ईरानका जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । 

यसबाहेक पछिल्लो दिनयता ईरान र अमेरिकाबीच तनाव बढिरहेको छ । 

अधिकारीहरुले गरे अपमान  

किमियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘म ईरानमा सताइएका लाखौँ महिलामध्ये एक हूँ, मैले वर्षाैँसम्म देशको लागि खेलेँ । अधिकारीहरुले जे भने मैले मानिरहेँ । सबै आदेशको पालना गरेँ तर उनीहरुका लागि हाम्रो कुनै महत्व छैन । हामीलाई केवल प्रयोग हुने हतियार बनाइयो ।’

साथै उनले युरोपबाट आकर्षक प्रस्ताव आएको भन्ने खबर साँचो नभएको र कहाँ जाने भनेर निर्णय नगरिसकेको बताइन् । गएको हप्ता उनी गायब भएको खबर बाहिरिएपछि ईरानीहरुले झट्का लागेको प्रतिक्रिया दिएका थिए । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया