जताजता डोजर, उताउता विकास !

 पुस २९, २०७६ मंगलबार १४:२१:१२ | जानुका दुवाडी
unn.prixa.net

सिमसिम पानी परेको थियो । घरमा केही सामान पठाउनको लागि बसपार्कतिर जाँदै थिएँ । काठमाण्डौ बाहिरका एक जना परिचित चिनेका जनप्रतिनिधिसँग भेट भयो । ‘के छ नानी खबर ?’ उनले सोधे । मैले आफ्नो खबर सुनाएपछि गाउँघरको खबर पनि सोधेँ । 

मेरो प्रश्नको जवाफ सकिन नपाउँदै उनले फुर्तिका साथ भने ‘एकदमै राम्रो छ ।’ मैले पनि फेरि सोधेँ, 'जनप्रतिनिधि आएपछि पालिकामा विकासको काम त तीव्ररुपमा भएकै होला नि ?' मेरो प्रश्न सकिन नपाउँदै उनले भने, ‘हो नि राम्रो विकास भइरहेको छ’ ।

उनले झन् जोशिँदै भने, ‘गाउँघरमा डोजर चलेको चल्यै छ, विकास भएको भयै छ ।’ उनले फूर्तिका साथ डोजर र विकास एकैसाथ जोडेर विकासको परिभाषा दिँदै गर्दा मैले मनमनै त्यो विकासको चित्र मस्तिष्कमा कोर्न थालेँ । 

अनि धेरैजसो पालिकाका बजेट सडक निर्माणमा खर्च भएका र डोजर आतङ्कका कुरा सम्झिएँ । यी कुराहरु चर्चामै छन् । 

हुन पनि यातायात विकासको महत्वपूर्ण पूर्वाधार नै हो । देशको कुना कन्दरासम्म सडक पुग्नु समृद्धिको सूचक पनि हो । तर विकासको परिभाषा डोजरमा मात्रै सीमित गर्दा र सडकसँग जोडिएका अन्य कुराहरुमा ध्यान नदिँदा भने यसले भविष्यमा समस्या निम्त्याउँछ भन्ने कुराको ख्यालै नभएका जस्ता देखिने यी जनप्रतिनिधि र गाउँको बारेमा चिन्तन गर्न बाध्य बनायो । 

केही दिनअघि बुवा काठमाण्डौ आउँदा पालिकामा जनप्रतिनिधि आएपछि विकासको लहर सुरु हुन्छ भनेको त डोजरको लहर पो सुरु भयो भन्नु भएको कुरा पनि सम्झिएँ ।

मलाई लाग्यो किन विकासको परिभाषा सडक निर्माणमा सीमित गराइयो ? के विकासको लहर जनप्रतिनिधिले डोजर मात्रै बुझेका हुन् त ? मलाई लाग्छ धेरै पालिकाले डोजरमा लगानी गरेको कुरा सुन्दा यिनै प्रवृत्ति र चिन्तन उत्पन्न हुने गर्छ । आज डोजरमा मात्रै गरिएको लगानीले भोलि अर्को समस्या पनि निम्तिन सक्छ भन्ने हेक्का जनप्रतिनिधिलाई किन नभएको होला ?

जनप्रतिनिधिको यो व्यवहार र बुवाको त्यो भनाइले मलाई सबैभन्दा पहिला विकास के हो ? भन्ने नै सोच्न बाध्य बनायो । मलाई लाग्यो सडक विकासको पहिलो शर्त त हो । सडकको सम्पर्कले दुर्गमलाई सुगम, अवसर नहुनेलाई अवसर र टाढालाई नजिक बनाउँछ । तर सडक मात्रै विकास होइन । योजनाबद्ध नबनाइएका सडक सम्पर्कका माध्यम बन्दैनन् । बरु प्राकृतिक विनाशका कारक बन्छन् । उत्पादन, उत्पादनको वितरण र अन्य सम्भावना उजागर गर्न मात्रै सडक बनाउन आवश्यक छ । 

मोटरसाइकलमा कुद्ने रहरले मात्र बनाइने सडकले विकास होइन, विपत्ति निम्त्याउँछ भन्ने बुझ्न जरुरी छ । विडम्बना अन्य कुनै प्रतिफल र वातावरणीय क्षतिको कुनै मूल्याङ्कन नगरि सडकका लागि सडक बनाउने प्रचलन बढ्दो छ । त्यस्ता सडक निर्माणमा आवश्यक प्राविधिक अध्ययनसमेत गरिएका हुँदैनन् । 

कति ठाउँमा त डोजर चालक नै इञ्जिनियर बन्ने प्रवृत्ति बढ्दो छ । जथाभाबीरुपमा डोजर लगाएर सडक बनाउने यो चर्को ज्वरो कतै आर्थिक लेनदेनसँग त सम्बन्धित छैन ? नेपालमा पालिकाको चुनावपछि भएको एउटा विज्ञ समूहको प्रतिवेदनले पालिकाको चुनाव जित्नेमध्ये धेरैजसो प्रतिनिधि कुनै न कुनै रुपमा ठेक्कापट्टाका काममा सहभागी भएका देखाएको थियो । 

यसलाई पुष्टि गर्ने आधार भनेको जनप्रतिनिधि आफैले डोजर र सडक निर्माणका ठेक्कापट्टामा लगानी गरिरहेका छन् । जीवनस्तरमा सुधार र उत्पादनमा जोड जस्ता दिगो विकासका आवश्यक पूर्वाधारलाई बेवास्ता गरिएको छ । यसलाई हेर्दा हाम्रो सामाजिक बनोट पैसामुखी बन्दै गइरहेको छ । 

जताततै सडक पुर्‍याउने होडले प्राय ग्रामीण भेगमा विकासका अन्य पक्षहरु ओझेलमा परिरहेका छन् । धेरै ठाउँहरुमा त महिला, बालबालिकालगायत अन्य क्षेत्रहरुको लागि आएको बजेटसमेत सडकमै खर्च गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । देशले राखेको 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय लक्ष्य पूरा गर्न पालिकाको समग्र विकासमा समान ढङ्गले ध्यान दिनुपर्ने बेला सडक निर्माणमा मात्रै स्राेत, साधन र जनशक्ति केन्द्रित गरिँदा अन्य क्षेत्र ओझेलमा परेका छन् ।  

हिउँदमा धेरै ठाउँमा डोजर चलाउँदा गाउँमा विकास आयो भनेर खुशी हुनेहरुलाई त्यही सडकले विनासको बाटोतर्फ लगेको पाइन्छ । यतिमात्रै होइन जथाभाबीरुपमा बाटो खन्दा मानिसको उठीबाससमेत हुने गरेको छ । जताततै डोजर चलाइँदा पहिरो गइरहको छ । विकासको नाममा विवेक भने पुग्न सकेको छैन ।

पालिकाहरुले अँगालेको विकासको यो पाटो निकै डरलाग्दो बन्दै गएको छ । डोजर आतङ्कबाट निम्तिएको बेथितीको पाठ अझै जनप्रतिनिधिले सिक्न सकेका छैनन् । वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै गरिने यस्ता विकास निर्माणका कामले एकातिर प्राकृतिक साधनको दोहन भएको छ भने अर्कोतिर वातावरणमा नकारात्मक असर परेको छ । डाँडा पाखा कटानले गर्दा प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । 

धेरै पालिकामा उपभोक्ता समितिबाट मानव स्राेत प्रयोग गरेर खन्ने भनिएका योजनाहरुमासमेत डोजर प्रयोग गर्ने गरिएको छ । एकातिर इञ्जिनियरहरुको कमी हुने र त्यसमा पनि उपलब्ध जनशक्तिको प्रयोग नगरि जाँचबिना नै बाटाे खन्ने प्रवृत्ति बढ्दो छ ।

प्राविधिक ज्ञान र जाँचबिना नै खनिएका सडकहरुले दुर्घटनाको जोखिम निम्त्याएको छ । नामका मात्रै उपभोत्ता समिति गठन गर्ने र काम चाहिँ डोजर साहुलाई नै दिने कार्य बढ्दो छ । 

चुनाव जित्ने बित्तिक्कै डोजर किन्ने अनि सबैभन्दा पहिलो काम चाहिँ सडक बनाउने र आफै ठेक्का लिने प्रवृत्ति बन्दै गएको छ । जनप्रतिनिधिका जोड बाटोघाटोमै छ । गाउँमा अन्य रोजगारी तथा आयआर्जनबारे कमैको मात्र चासो गएको छ । 

सडक विस्तार र निर्माणसँगै मानव जीवनका अन्य पक्षहरुमा समेत पालिका, प्रदेश सरकार र सङ्घीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया