ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा

 साउन ६, २०७५ आइतबार १३:५२:२६ | केशवप्रसाद भट्टराई

ताप्लेजुङ – ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ ।

गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएका छन् भने विभिन्न कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् ।

एकवर्ष अघिदेखि सदरमुकाम फुङ्लिङ बजार र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ, वडा नम्बर ४ र ५ चाँगे तथा मेरिङ्देन गाउँपालिका ३ खाम्लुङस्थित दोभानबजारमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा प्रवाह हुँदै आएको छ ।

राष्ट्रिय प्रसारण लाइनमा पाँचथरको फिदिम–ताप्लेजुङ खण्डमा समस्या आएपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार दिउँसोदेखि विद्युतमा समस्या आएसँगै विद्युत प्राधिकरणका प्रविधिकहरुको टोलीले विद्युत प्रसारण सञ्चालन गर्न प्रयास गरे पनि अहिलेसम्म कारण पत्ता लगाउन नसकेको प्राधिकरणले जनाएको छ ।

ताप्लेजुङ वितरण केन्द्रका प्रमुख विष्णु खतिवडाका अनुसार विद्युतको समस्या (फल्ट) पहिल्याउँदै आइतबार बिहानसम्ममा प्राविधिक टोली फिदिमदेखि पाँचथरकै गोपेटारसम्म आइपुगेको छ । खतिवडाले त्यहाँसम्म समस्या नरहेको र गोपेटारदेखि यताको क्षेत्रमा टोलीले निरन्तर रुपमा काम गर्दै आएको र चाँडै समस्या पत्ता लगाई दिउँसोसम्ममा विद्युत सेवा सञ्चालनमा ल्याउने गरी प्राधिकरण लागि परेको बताउनुभयो ।

यता विद्युत सेवा बन्द हुँदा फुङ्लिङबजारमा फर्निचर, गृल, काष्ठलगायतका उद्योगहरु ठप्प भएका छन् भने कम्प्युटर लगायतका ट्रेनिङ सेन्टरहरु पनि ठप्प भएका छन् ।

सोलार तथा जेनेरेटरको प्रयोगबाट केही अत्यावश्यक कामहरु भने दुःखले गर्दै आएको युनिभर्सल इन्ष्टिच्युटका प्रोपाइटर विष्णुकुमार हाङ्बाङले बताउनुभयो । 

यस्तै शनिबार बिहानदेखि इन्टरनेट सेवामा समेत समस्या आएको छ । विद्युत सेवा साथै अप्टिकल फाइबरमा समस्या आएका कारण इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङले जनाएको छ ।

इन्टरनेटमा खराबी आउँदा फुङ्लिङमा रहेकाे नेपाल बैङ्क लिमिटेडलगायतका दर्जनौं बैङ्क तथा वित्तीय संस्थाहरुमा सेवा प्रवाह ठप्प भएको छ ।

नेपाल बैङ्क लिमिटेडका कर्मचारी दीपक भट्टराईले इन्टरनेट नहुँदा बैङ्किङ सेवा प्रभावित भएको बताउनुभयो ।

भट्टराईका अनुसार यसअघि पनि विद्युत अवरुद्ध हुँदा इन्टरनेटमा समस्या आउने गरेको र त्यसबेला पनि सेवा प्रवाह ठप्प हुने गरेको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया