टोपबहादुरलाई नेपाल फर्काउन युएईमा ३० लाख रुपैयाँ ब्लडमनी बुझाइयो

 साउन ६, २०७५ आइतबार १४:२६:१४ | उमाकान्त पाण्डे

युएई – चितवनका टोपबहादुर बिकले युएईमा तिर्नुपर्ने ब्लमनी बापतको रकम आइतबार बुझाइएको छ । युएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिर्हाम अथवा  झन्डै ३० लाख रुपैयाँ बुझाएको नेपाली दूतावास युएईले जनाएको छ ।

 ब्लडमनी बापतको पैसा बुझाउन नसक्दा टोपबहादुर ५ वर्षदेखि युएईबाट घर फर्किन पाउनुभएको छैन् । १४ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो ।

घटनामा उहाँको पनि संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । दुई लाखमध्ये कम्पनीले एक लाख र टोपबहादुरले एक लाख दिर्हाम बुझाउनु पर्ने थियो । 

आइतबार ब्लडमनी बापतको रकम बुझाएपछि टोपबहादुरको मुद्धा सक्किएको र उहाँ दुई हप्ताभित्र घर फर्किने युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।

मुद्धाको टुङ्गो लागेपनि प्रशासनिक प्रक्रिया मिलाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अब टोपबहादुरले अध्यागमन, श्रम अदालतबाट सफाया र प्रहरीसँग भएको पासपोर्ट पाएपछि नेपाल फर्किन पाउने दूतावासले जनाएको छ । ब्लडमनी बुझाएपछि अाइतबार नै अलऐनको सेन्ट्रल जेलमा रहेको पास्पोर्ट पनि टोपबहादुरले पाउनुभएको छ ।

एनआरएनए युएईको संयोजकत्वमा सञ्चालन गरिएको टोपबहादुर उद्धार अभियान अन्तर्गत युएईमा रहेका नेपाली संघसस्थाले एक लाख दिर्हाम ब्लडमनी जुटाएर दूतावासमा बुझाएपछि टोपबहादुरलाई नेपाल फर्काउन दूतावासले अदालती प्रक्रिया सुरु गरेको थियो ।

कम्पनी र टोपबहादुरले बुझाउनु पर्ने रकम सँगै बुझउनु पर्ने भन्दै अदालतले पहिले रकम लिन नमानेपछि दूतावासले पहल थालेको थियो । बुधवार टोपबहादुरको मात्रै रकम बुझ्न अलऐनको तल्लो अदालतलाई आबुधाबी उच्च अदालतले लिखित निर्देशन दिएपछि दूतावासले आइतबार अलऐन अदालतमा ब्लडमनी बुझाएको हो ।
टोपबहादुर युएई आएको ९ वर्ष भयो । यी ९ वर्षमा सबैभन्दा खुशी ब्लडमनी बुझाएको खबर पाउँदा मिलेको टोपबहादुरले बताउनुभयो ।  ६ महिनादेखि टोपबहादुरको खाने बस्ने व्यवस्था एनआरएन युएईले गर्दै आएको छ । 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • baburam sunar

    July 22, 2018, 3:19 p.m.

    टोप् बहादुर बिक लाइ एउटा अभिबाबक भएर हरेक संग सस्था लाइ लाइ एक जुट बनाएर ३० लाख नेपालि रुपिज संकलन गरि टोप बहादुर बिक को उद्दार गर्न सफल रमेश श्रेष्ठ ज्यु NRNA गुरुप लगाएत सम्पूर्ण सहयोगी हरुलाई हार्दिक आभार पर्कट गर्दछु !

  •  0 Reply

तपाईको प्रतिक्रिया