भारत–अस्ट्रेलिया : निर्णायक खेलमा भारत केही दबाबमा

 माघ ५, २०७६ आइतबार १२:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । दुवै टिमले एक–एक खेल जितेकाले आजको विजेताले सिरिज जित्ने छ ।

यी दुईबीचकाे खेल बेङ्ग्लोरमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छ । मुम्बईमा भएको पहिलो एकदिवसीयमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो भने राजकोटमा भएको दोस्रो एकदिवसीयमा भारत ३६ रनले विजयी भएको थियो ।

यो सिरिजको अन्तिम एकदिवसीय चिन्नास्वामी स्टेडियममा हुँदै छ । आजको खेलमा भारत केही दबाबमा रहेको छ । उसका मुख्य खेलाडीहरु रोहित शर्मा, शिखर धवन र ऋषभ पन्त घाइते भएका छन् ।

आजको खेलमा रोहित र धवनमध्ये एक जनामात्रै खेलेको खण्डमा फेरि एक पटक केएल राहुलले ओपनिङ गर्नुपर्ने छ । दोस्रो एकदिवसीयमा मध्य क्रममा मैदान छिरेका राहुलले उत्कृष्ट प्रदर्शन गरेकै कारण भारतले जीत हात पारेको थियो । यस्तोमा ब्याटिङ अर्डर बिग्रने सम्भावना पनि छ ।

मुम्बईमा  कुनै पनि भारतीय बलरले विकेट लिन सकेका थिएनन् । तर राजकोटमा ३४० रनको स्कोर रक्षा गरे पनि अस्ट्रेलियाको टिमले ३०० भन्दा बढी रन भने बनाएकै थियो । जसका कारण पनि आजको नतिजा सहजै अनुमान लगाउन नसकिने क्रिकेट विश्लेषकहरु बताउँछन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया