राष्ट्र बैंक भन्छ: नोटमा स्टिच लगाउने र केरमेर गर्नेहरु बदमास

 साउन ६, २०७५ आइतबार १९:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल राष्ट्र बैंकले नोटमा जथाभावी फोहोर गर्ने बैंक बदमास ठहरिने जनाएको छ ।

नोटका बन्डलमा स्टिच लगाउने र जभाभावी ट्याग लगाउने बैंक या व्यक्ति बदमास ठहरिने र उ प्रतिको विश्वास कम हुने राष्ट्र बैंकको दावी छ ।

नेपाली नोट फोहोर भएको र कारोबारपिच्छे बैंकले स्टिच लगाउँदा नोटको आयु घटिरहेको भन्दै केन्द्रीय बैंकले केही समय अघिदेखि बैंकहरुलाई यसो नगर्न भनेको थियो ।

धेरै बैंकले यो नियम पालना गरे पनि केही बैंकले अटेरी गर्दै स्टिच गर्ने कामलाई निरन्तरता दिएपछि राष्ट्र बैंकले २०७५-७६ को मौद्रिक नीतिमा यसलाई बाध्यकारी बनाउने प्रावधान राखेको छ । 

अब नोटलाई पेपर, पलाष्टिक वा रबरको फित्ताबाट मात्रै नोटको प्याकेटिङ वा बन्डलिङ गरी चलनचल्तीमा ल्याउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

‘नोटले पनि देशको संस्कार कस्तो रहेछ भन्ने झल्को दिन्छ, विदेशीले नेपालीहरु कत्तिको सभ्य छन् भन्ने कुरा नोटबाट पनि दाँज्ने हुँदा हामीले यस्तो व्यवस्था गरेको हो’, राष्ट्रबैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्नुभयो, ‘देशको इज्जतसँग जोडिएको कुरा भएकाले हामीले सबै बैंकलाई नोट फोहोर नगर्न भनेका छौं, हाम्रो इज्जतसँग जोडिएको कुरामा बैंक या व्यक्तिले अटेरी गर्नै मिल्दैन ।’

नोट फोहोर नगर्न र स्टिच नगर्न नेपाल राष्ट्रबैंकले २०७१ र २०७३ सालमा सबै बैंक तथा वित्तिय संस्थालाई परिपत्र पनि गरेको थियो ।

यस्तै सर्वोच्च अदालतले पनि नोटमा केरमेट नगर्न, स्टिच नलगाउन र फोहोर नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

तर अझै पनि केहि बैंक तथा वित्तीय संस्थाले नोटको बन्डलमा स्टिच नै लगाएपछि नेपाल राष्ट्र बैंकले २०७५-७६ को मौद्रिक नीतिमा यसलाई समावेश गरेको हाे । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया