चीनमा काेराेना भाइरसबाट १७ जनाकाे ज्यान गयाे, वुहान शहरमा स्थानीयलाई यात्रा गर्न प्रतिबन्ध

 माघ ९, २०७६ बिहिबार १०:५३:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । 

कोरोना भाइरसको प्रकोपलाई रोक्नको लागि अधिकारीहरुले यस्तो प्रतिबन्ध लगाएका हुन् । वुहान शहरबाट नै कोरोना भाइरस फैलिन सुरु गरेको थियो । 

यो भाइरसबाट अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सय ५० भन्दा बढी सङ्क्रमित भएका छन् । 

बिहीबार बिहानबाट लगाइएको यो प्रतिबन्धपछि शहरी बस, ट्रेन, सबवे, विमानस्थल बन्द गरिएका छन् । वुहान शहर पूर्णरुपमा बन्द गरिएको छ भने होटल र रेस्टुरेन्टलाई ठूला कार्यक्रमकाे आयाेजना नगर्न तथा पुस्तकालय, सङ्ग्रहालय र नाटकघरलाई प्रदर्शनीकाे आयाेजना नगर्न अधिकारीहरुले सचेत गराएका छन् । स्थानीयहरुलाई अत्यावश्यक काममा मात्र बाहिर निस्कन भनिएको छ । 

यसका साथै शहरका नगरपालिका सरकारले सूचना जारी गर्दै सार्वजनिक स्थानमा सबैलाई मास्क लगाउन सचेत गराएको छ । 

अहिलेसम्म चीनबाहेक अमेरिका, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने चिकित्सकहरुले बताएका छन् । 

'सि फुड' पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । 

कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ । 

एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍याैँ । याे सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया