सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

 माघ १३, २०७६ सोमबार १८:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा रहेको मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । 

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै गएको शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । 

त्रिपाठीले दायर गर्नुभएको रिटमाथिको सुनुवाई सोमबार नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । यसअघि आइतबार न्यायाधीश हरि फुयाँलको इजलामा परेको मुद्धा फुयाँलले हेर्न नमिल्ने भएपछि सोमबार मल्लको इजलासमा राखेर सुनुवाई सुरु भएको हो । 

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नु भएको हो ।रिटमा सापकोटालाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न माग गरिएको छ ।

यस्तै रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ । 

सर्वोच्च अदालतले २०६८ सालमै घटनाको अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न पनि रिटमा माग गरिएको छ । 

द्वन्द्वकालीन अवस्थामा लामाको हत्या प्रकरणमा संलग्न भएको भन्दै मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिनुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया