वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु

 माघ १४, २०७६ मंगलबार १९:०:५६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ । 

प्रदर्शनमा गोली लागेर  करिब ५ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएका जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयाे । घाइतेहरुकाे स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको स्थानीय जानकारी दिएका छन् ।  तर, प्रहरीले गोली चलाएकाे तथ्य भने अस्वीकार गरेको छ । 

भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, ‘हामीले त्यसरी गोली हानेका छैनौँ । भिड ठूलो भएकाले घुसपैठ भएकाे हुनसक्छ । अज्ञात समूहले गोली चलाएको हुन सक्छ । त्यसैले हामीले कर्फ्यु लगाएका हौँ ।’ 

जिल्ला प्रशासन कार्यालयमा साँझ साढे ६ बजेदेखि भोलिबिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । आक्रोशित  भएका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा तोडफोड समेत गरेका छन् । 

बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परकाे ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । मृतक सिंह चढेकाे भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरकाे टिप्परले ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका पीडित पक्ष र प्रशासनबीच केहीबेर अघिकाे छलफलमा तीन बुँदे सहमति भएकाे छ ।

टिप्पर चालकलाई हदैसम्मकाे कारबाही हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने र शवकाे पाेस्टमार्टम गर्ने सहमति भएकाे हाे ।

शवकाे पाेस्टमार्टम बाहेका अन्य दुई बुँदामा पीडितहरुले चित्त बुझाएका छैनन् । प्रदर्शनका क्रममा बजारका शिशा तथा सीसी क्यामेराहरु फुटाइएका छन् भने क्षतिकाे यकिन विवरण भने आइसकेकाे छैन ।

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया