स्वास्थ्य चौकीमै छैन खानेपानी र शाैचालय

 माघ १५, २०७६ बुधबार १५:५५:५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – रामगोपालपुर नगरपालिका ७ सहसौलाको स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था नभएपछि सेवाग्राही मर्कामा परेका छन्  ।

स्वास्थ्य चौकीमै शौचालय र खानेपानीको अभाव भएपछि उपचारका लागि आउने बिरामीसँगै कार्यरत कर्मचारी समस्यामा परेका हुन् । शौचालय नभएपछि उपचारका लागि आएका बिरामी शौच गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी सरस्वती यादवले बताउनु भयो ।

‘पुरुष कर्मचारीले अन्यन्त्र गएर शौच गर्ने गर्नुहुन्छ । तर महिलालाई निक्कै समस्या परेको छ  । शौचालय र खानेपानी नहुँदा साह्रै मर्का परेको छ’ यादवले भन्नुभयो ।

स्वास्थ्य चौकीका प्रमुख अहेव लक्ष्मण महतोले विगत लामो समयदेखि शौचालय र खानेपानीको व्यवस्था नभएको स्वीकार गर्नुभयो । नगरपालिकाले अहिलेसम्म शौचालयको व्यवस्थापन गर्न नसकेको भन्दै महताेले सम्बन्धित निकायलाई स्वास्थ्य चौकीको समस्याबारे पटक-पटक जानकारी गराइएको बताउनु भयाे । 

नगरप्रमुख अशोक कुमार मण्डलले भने स्वास्थ्य चौकीको लागि पर्याप्त बजेट विनियोजन नहुँदा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको बताउनुभयाे  ।

आउँदा दिनमा स्वास्थ्य चाैकी र सार्वजनिक ठाउँमा शुद्ध खानेपानी र शौचालय निर्माण गरिने नगरप्रमुख मण्डलले बताउनु भयाे । याे स्वास्थ्य चौकीमा अहिले सिनियर अहेब एक जना, अहेब दुई जना र अनमी एक जना गरी चार जना कर्मचारी कार्यरत छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया