कांग्रेसले डाक्टर केसीको उपचार गर्न दिइरहेको छैन : प्रधानमन्त्री ओली

 साउन ७, २०७५ सोमबार १७:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलवाड गरिरहेको आरोप लगाउँदै वरिष्ठ चिकित्सक केसीलाई सचेत पनि गराउनुभयो । सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गर्नुभयो ।

उहाँले केसीका वरिपरि बसेकाहरुले ‘आमालाई गम्रङ्ग अँगालो हालेर नाकको फुली थुते’ जस्तो व्यवहार गोविन्द केसीका वरिपरि रहनेहरुले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली कांग्रेसलाई चेतावनी दिनुभयो । उहाँले चिकित्सकहरुले अस्पतालको सेवा बन्द गराएकोमा पनि आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आमरण अनसन मानव अधिकार विरोधी गतिविधि भए पनि त्यसको पक्षमा विरोध प्रर्दशन गरेको भन्दै मानव अधिकारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरु निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको दावी पनि गर्नुभयो । सरकार आवेश, उत्तेजनाजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया