भम्रण वर्ष सफल बनाउन सडक सुधार आवश्यक : सीताराम हाछेथु

 माघ १९, २०७६ आइतबार १२:३:२९ | सिताराम हाछेथु
unn.prixa.net

काठमाण्डौ – सरकारले झण्डै एक वर्षदेखि नेपाल भ्रमण वर्ष लक्षित विभिन्न गतिविधि गर्दै आएको छ । यद्यपि पर्यटन वर्षलाई प्रभाव पार्ने मुख्य क्षेत्रमध्ये एक ट्राफिक व्यवस्थापन र सडकको अवस्था भने सोचेअनुसार छैन । 

पर्यटकको विशेष रोजाइमा पर्ने भक्तपुर, ललितपुर, काठमाण्डौ, पोखरा लगायतको सडकको अवस्था नाजुक छ । ट्राफिक व्यवस्था उस्तै अस्तव्यस्त छ । 

काठमाण्डौ उपत्यकाको कुरा गर्दा बानेश्वरमा बाटो अलि राम्रो छ । अरु ठाउँमा खासै राम्रो छैन । बाटो मात्रै होइन यहाँ त राम्रो पार्किङको व्यवस्था पनि छैन । 

विदेशीहरुलाई त ट्राफिक नियमको पालना गरेर हिँड्ने बानी हुन्छ । रातो बत्ती बल्दा रोकिने, हरियो बल्दा जाने तर हाम्रो अहिले केही ठाँउमा मात्रै ट्राफिक बत्ती बल्छ, नत्र त ट्राफिक बत्ती देख्न नि मुश्किल छ ।   

पर्यटकहरु जेब्राक्रस र आकाशे पुलबाट मात्रै बाटो काट्न रुचाउँछन् । तर हाम्रो सडकमा जेब्राक्रस पनि कम छन्, भएका पनि मेटिएका छन् । अनि आकाशे पुल त निकै कम छन् । अझै हिँड्नको लागि बाटोमा फुटपाथ नै छैन । भएका फुटपाथमा पनि व्यापारीले आफ्नो पसलका सामान राखेका छन् ।

अर्काे कुरा, विदेशीहरु आएको देखेपछि चालकहरुले सधैँ ठग्ने गरेको पनि सुनिन्छ । यसको लागि कडा कारबाही गर्ने व्यवस्था पनि छैन । अनि यस्तो अवस्थामा कसरी पर्यटकले सहज यात्रा गर्न सक्छन् ? 

त्यसैले भ्रमण वर्षको सफलताका लागि सरकारले सडक र व्यवस्थापनमा पहिल्यै सोच्नुपर्ने हो, तर अहिले पनि यसलाई सुधार गर्न सकिन्छ । 

प्रधानमन्त्रीज्यूले सडकको खाल्डा टाल्ने निर्देशन दिनु भएपछि खाल्डो पुर्न थालियो । यो कुरा त पहिले पनि गर्न सकिने काम हो । पर्यटकका लागि मात्रै नभइ हामी जस्तो नागरिकका लागि पनि यो काम हुनुपर्छ । अर्काे सडकमा भएका सबै ट्राफिक बत्ती बल्नुपर्छ तथा धेरै जाम र गाडीको चाप हुने ठाउँमा ट्राफिक बत्ती राख्नुपर्छ । अनि राति हिँड्नको लागि सडक बत्तीको व्यवस्था हुनुपर्छ ।   

सडकमा मेटिएका सडक रेखाहरु फेरि पोतिनुपर्छ । जेब्राक्रस पनि रङ्गिनु पर्छ र थपिनु पर्छ  । यसलाई छिटोभन्दा छिटो सक्नुपर्ने जरुरी देखिन्छ । 

धेरैलाई लाग्छ कि यो त सडकसँग जोडिएको समस्या हो । यसलाई त ट्राफिकले हेर्नुपर्छ । तर ट्राफिकसँग पनि सीमित जनशक्ति छन् । ती जनशक्तिले जाम खोल्ने कि पर्यटकको सुविधाका लागि गाडीको गुणस्तरीयतामा काम गर्ने भन्ने पनि कुरा आउँछ ।

मुख्य कुरा त यो बेलामा पर्यटक ठगेको कुरा धेरै आउने गरेको हुन्छ । यस्तो कुरालाई हटाउन ट्राफिक लागि रहेको छ । यसको साथै यसलाई कम गर्नको लागि यातायात मन्त्री र पर्यटन मन्त्रीको प्रयत्क्ष सहभागितामा ट्याक्सी चालक र भाडाका गाडीका सबै चालक र सहचालकलाई बोलाएर पर्यटकको आदर र सम्मान गर्न सिकाउने तालिम गर्नुपर्छ । 

विशेषतः यो तालिम ट्याक्सी चालकलाई दिनुपर्छ । किनकि पर्यटकले धेरै प्रयोग गर्ने यातायातको साधन ट्याक्सी हो । तालिममा गर्न हुने/नहुने कुरा, व्यवहारमा ल्याउनु पर्ने सुधार लगायतका विभिन्न कुराहरु समावेश हुनुपर्छ । ट्राफिक प्रहरीले पनि बेलाबेलामा छड्के जाँच गर्नुपर्छ ।

यसका लागि ट्राफिक प्रहरी अनि अरु सबै निकायमा समन्वय हुनुपर्छ । ट्राफिक प्रहरीले गरेर मात्रै यो हुन गाह्रो छ किनकि हाम्रोमा ट्राफिक प्रहरी हुँदा मात्रै नियममा बस्ने र पालना गर्ने बानी छ ।

त्यसैले ट्राफिकले बेलाबेलामा सिभिलमा राति पनि छड्के गर्नुपर्छ । राति ट्राफिक नभएको बेला यस्तो घटना धेरै घटेको छ । यो विषयमा ध्यान दिनु जरुरी छ । अनि चालकहरुले पनि इमान्दार हुनुपर्छ । कुनै पर्यटकलाई दरबारमार्गबाट ठमेल जानुपर्‍यो भने कता पर्छ ? कति टाढा छ ? कति लाग्छ थाहा हुन्न । अनि चालकले यसको फाइदा उठाएर लामो रुटबाट लैजाने, धेरै पैसा लिने गरेको हुन्छ । यसमा चालक बढी सचेत हुनुपर्छ र इमान्दार पनि । 

अर्काे कुरा कारबाही पनि हुनुपर्छ । यदि कुनै चालकले पर्यटक ठगेमा उसलाई दोब्बर जरिबाना गर्नुपर्छ । कुनै पर्यटक ठगियो भने यसको नकारात्मक सन्देश जाने भएकोले यो भ्रमण वर्षमा चालकले ठगेको वा अभद्र व्यवहार गरेको पाइएमा तीन हजार जरिबानाको सट्टा ६ हजार तिराउने गर्‍याे भने डरको कारणले पनि यस्तो घटना कम हुन सक्छ । ट्राफिक प्रहरी मात्रै नभएर यो कुरामा यातायात मन्त्रालय, पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ । 

साथै पर्यटकको लागि यो भ्रमण वर्षभरिको लागि एउटा छुट्टै सम्पर्क कार्यालयको स्थापना गर्नुपर्छ । त्यहाँबाट पर्यटकलाई चाहिने सबै जानकारी दिनुको साथै परेको समस्याको उजुरी पनि गर्न सकिने हुनुपर्छ । अनि त्यस कार्यालयमा पर्यटकको हराएका सामानको बारेमा पनि उजुरी गर्ने जस्तो सुविधा दिइयो भने यसले भ्रमण वर्षमा पर्यटकालाई फाइदा पुग्नुका साथै भ्रमण वर्ष सफल हुन सहयोग पुग्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया