कोरोना भाइरसलाई मध्यनजर गर्दै हेटौँडा अस्पतालले उच्च सतर्कता अपनाउने

 माघ १९, २०७६ आइतबार २१:४:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि मकवानपुरको हेटौँडा अस्पतालले उच्च सतर्कता अपनाउने भएको छ ।

अस्पतालले शङ्कास्पद बिरामी आइहालेमा उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार गर्ने भएको छ । धेरै बिरामीको चाप हुने हेटौँडा अस्पतालमा तीनवटा कोठाको कक्ष खडा गरी सेवा सुरु गर्ने तयारीमा जुटिसकेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डाक्टर प्रबिन श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले नयाँ भवनको ओपीडी कक्षमा उक्त उपचार कक्षको तयारी गरिरहेको र त्यस कक्षको जिम्मेवारी फिजिसियनले लिने श्रेष्ठले बताउनुभयाे । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाै पठाइने तयारी गरे पनि हालसम्म शङ्कास्पद बिरामी आइनसकेको उहाँले बताउनुभयो ।

त्यस बाहेक बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक कार्यकम समेत सुरु गर्ने उहाँले बताउनुभयो । नियमित रुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने डा श्रेष्ठकाे भनाइ छ।

यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान सुझाव दिनुभयो ।

अस्पतालका अनुसार त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम गर्न जरुरी छ । केन्द्रीय अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल मकवानपुर जिल्लासहित तराईको विभिन्न जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया