भारतले दशगजा क्षेत्रमा एकतर्फी रुपमा बनाउँदै गरेको चेकपोष्टको काम रोक्यो

 साउन ७, २०७५ सोमबार १९:३:५४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – भारतीय पक्षले  धनुषाको जटही दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बनाउँदै गरेको चेकपोष्ट तत्कालका लागि स्थगित गरेको छ । 

भारतीय कस्ट्युम अफिसले धनुषाको नगराइन नगरपालिका –२, जटही र भारतको मधुवनी जिल्लाको पिपरौन दशगजा क्षेत्रमा चेकपोष्ट निर्माण थालेको थियो ।

नेपाल सरकारको पहलमा तत्काल भारतीय पक्षले चेकपोष्ट निर्माण रोकेको धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभयो । उहाँले कति दिनका लागि रोकिएको विषयमा थाहा नभए पनि सीमाको यकिन सर्वेक्षण नभएसम्मका लागि रोकिएको बताउनुभयो ।
 
यता सशस्त्र प्रहरी धनुषाका उपरीक्षक राजु पाण्डे नेपाल सरकारको पहलमा वीरगञ्ज स्थित रहेको भारतीय बाणिज्य दूताबासले २–३ दिनको लागि रोकिएको जानकारी दिएको बताउनुभयो । उहाँले नेपालका नापी विभागका कर्मचारीलाई बोलाएर सीमा क्षेत्रको नापी गराउने सर्तमा निर्माण कार्य रोकेको जानकारी दिनुभयो ।  
 
गएको जेठ २ गतेबाट एसपी ५१ र पिल्लर नम्बर २८४ र ३५ को बीचमा कस्ट्युम अफिसले चेक पोष्ट निर्माण सुरु गरेको थियो । जमुनी नदीको दक्षिणी किनारमा निर्माण गरिरहेको चेकपोष्ट तत्काल रोक्न भारतीय पक्षलाई पटक–पटक आग्रह गर्दा समेत पुनः बीच–बीचमा रोकेर चेकपोष्ट निर्माण जारी राखेका थिए । यस विषयमा सञ्चारमाध्यममा समाचार आएपछि नेपाल सरकारले पहलकदमी लिएको हो । 

गएको शनिबार मात्र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले जनकपुर आएका बेला सञ्चारकर्मीसँको कुराकानीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सीमा सन्दर्भमा भारतसँग रहेको विवादका विषयमा दुवै पक्ष बसेर छलफल गरी समाधान गर्ने बताउनु भएको थियो ।
 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया