प्रदेश १ सभाको दुई वर्ष : ‘न सभा बन्यो, न नाम जुर्‍याे’

 माघ २२, २०७६ बुधबार २०:३९:२९ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी – प्रदेश सभाको स्थापना भएको दुई वर्ष पूरा भएको छ । प्रदेश १ को संसदीय अभ्यास सुरु भएको २५ महिना अर्थात ७३१ दिन पूरा भएको छ । यस अवधिमा १८० वटा बैठक बसेका छन् । 

प्रदेश सभाको  स्थापनासँगै सुरु भएको प्रदेशको संरचना र कानून निर्माणको कुरा पनि तिव्र गतिमा अगाडि बढेको बताईन्छ । प्रदेशसभाबाट अहिलेसम्म ३९ वटा कानुन निर्माण भईसकेको र पाँचौ अधिवेशनका लागि ४ वटा विधेयक टेबुल भएको प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । 

प्रदेशको नाम दिन नसक्दा पछुतो

दुई वर्षकाे अवधिमा प्रदेश सभाबाट प्रदेशको नाम अझै पहिचान पाएको छैन । प्रदेशलाई १ नै भनेर चिनाउनु पर्दा सभाका सभामुख प्रदिपकुमार भण्डारीलाई पनि चित्त बुझेको छैन ।  

‘यस अवधिमा अनुभव प्राप्त भएको छ । अनुभव गर्दा केही समय बित्यो । संसद भनेको परम्परा, अभ्यास, नियमावली, नीति र संविधानको आधारमा चल्ने रहेछ ।’सभामुख भण्डारीले भन्नुभयो । अब व्यवस्थित र व्यवहारिक रुपमा अगाडि बढ्न सहज भएको सभामुख भण्डारीको तर्क छ । 

सुरुका दिनमा कर्मचारीको अभाव, भौतिक संरचनाको अभाव, कानूनी जटिलताले गर्दा प्रदेश सभाले निक्कै अप्ठेरो ब्यहोर्नु परेको सभामुख भण्डारी सम्झनुहुन्छ । सभामुख भण्डारीले भन्नुभयो, ‘हिउँदे अधिबेशन बिहीबारदेखि सुरु हुँदैछ, यही अधिवेशनबाट नाम राख्नु पर्छ भनेर तिब्र रुपमा गृहकार्य गरिरहेका छौ ।’

प्रदेशसभा प्रविधिमा

प्रदेशले नयाँ प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । दुई वर्ष पूरा गरेको अवसरमा संसद भवनमा आयोजित एक कार्यक्रमका बीच प्रदेश सभाको नयाँ वेवसाईट, एप समेत सार्वजनिक भएको छ । 

साथै पाँचौ अधिवेशनदेखि प्रदेश सभाको बैठकको सम्पूर्ण विवरण यूट्युबबाट समेत लाइभ गर्ने तयारी भएको छ । सभामुख भण्डारीले मोबाइल एप र वेबसाइट सार्वजनिक गर्नुभयो । 

अब प्रदेश सभा र सचिवालयमा हुने सबै गतिविधिलाई तत्काल वेबसाइटमा राख्नेगरी काम सुरु भएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया