अरुण तेस्रोकाे लागि लगानी जुट्याे : नेपाल र भारतका बैंकहरूले एक खर्बभन्दा बढी लगानी गर्ने

 माघ २३, २०७६ बिहिबार १५:१:४४ | नवीन गुरुङ
unn.prixa.net

फाइल फोटो

संखुवासभा - संखुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । 

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभीएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले जनाएको छ ।

बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो ।

यस जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबीआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो । जसमा एसबीआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पीएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् ।  

त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पूरा नहुँदै निर्माणको काम सुरु भइसकेकाले विश्वास बढेको बताउनुभयो ।

लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले गर्ने ऋण लगानीको सम्झौता आज दिउँसो ४ बजे काठमाण्डौको होटल याक एण्ड यतीमा हुने बताइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया